महोत्तरी - बंगलादेशको म्यामनसिंह जिल्लामा भ्रमपूर्ण आरोपमा एक हिन्दु युवकको कुटपिट गरी हत्या गरी जलाइएको घटना विरुद्ध महोत्तरीको औरही नगरपालिका–८ टिम्कियामा विरोध प्रदर्शन गरिएको छ।

हिन्दु सम्राट सेना नेपालका वडा संयोजक धिरज कुमार साह तथा जेनजीका वडा अध्यक्ष सन्जित दासको नेतृत्वमा स्थानीय युवाहरूको सहभागितामा उक्त प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै बंगलादेश सरकारको प्रतीकात्मक पुत्ला दहन गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले बंगलादेश सरकारविरुद्ध नाराबाजी गर्दै बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदाय असुरक्षित अवस्थामा रहेको आरोप लगाए। उनीहरूले निर्मम हत्या जस्ता घटनामा समेत सम्बन्धित सरकारले प्रभावकारी कारबाही नगरेको दाबी गरेका छन्।

हिन्दु सम्राट सेना नेपालका वडा संयोजक साहले निर्दोष हिन्दु युवकको हत्या मानवता विरुद्धको गम्भीर अपराध भएको बताए। उनले यस्ता घटनाप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण आवश्यक रहेको उल्लेख गरे।

त्यसैगरी, जेनजीका वडा अध्यक्ष दासले बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि निरन्तर अत्याचार भइरहेको आरोप लगाउँदै निष्पक्ष छानबिन गरी दोषीलाई कडा सजाय दिनुपर्ने माग गरे।प्रदर्शनमा सहभागी युवाहरूले नेपालमा मुस्लिम आयोग खारेज गरिनुपर्ने मागसमेत राखेका छन्।

साथै, उक्त घटनामा शीघ्र न्याय नदिइए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिएका छन्।









