महोत्तरी — महोत्तरी जिल्लासहित तराईका केही जिल्लामा आज दिनभर हुस्सु लाग्ने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा बिहानदेखि नै हुस्सु/कुहिरो लागेको छ भने दिउँसो पनि यसको प्रभाव कायमै रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
पछिल्लो समय बढेको चिसोले विशेषगरी तराई/मधेश क्षेत्रमा जनजीवनसँगै पशुचौपाया र कृषि बालीमा समेत असर पुर्याएको छ। पुस लागेसँगै सुरु भएको चिसो थप बढ्दै जाँदा सर्वसाधारण, पशुचौपाया तथा कृषि क्षेत्र प्रभावित बनेका छन्।
काठमाडौँ उपत्यकासहित देशका अन्य भागमा पनि चिसो बढ्दो क्रममा रहेको छ। महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौँको न्यूनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो बिहान सोही समयमा ५ दशमलव ४ डिग्री सेल्सियस रहेको तापक्रम पछि पौने ९ बजे घटेर ५ डिग्री सेल्सियसमा झरेको थियो।
महाशाखाले चिसो र हुस्सुको प्रभावबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




