महोत्तरी - औरही नगरपालिका–१ स्थित औरही बजारमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा माछा- मासु उल्लेख्य कारोबार भएको छ।स्थानीय व्यापारीहरूका अनुसार नयाँ वर्षको दिन मात्र मासु तथा माछा बिक्रीबाट करिब ६०–७० लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

नयाँ वर्ष मनाउनेहरूको संख्या बढेसँगै बजारमा मासु तथा माछाको माग अत्यधिक बढेको बताइएको छ।औरही बजारका मासु व्यवसायी जाबिर लहेरीले भने,सामान्य दिनको तुलनामा नयाँ वर्षमा ग्राहकको भीड धेरै थियो,खसी,कुखुरा र माछाको बिक्री अपेक्षा गरेभन्दा बढी भयो।

यसैगरी,औरही उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रवण चौधरीले बजारको चहलपहललाई सकारात्मक संकेतको रूपमा व्याख्या गर्दै भने,नयाँ वर्षका अवसरमा व्यापार वृद्धि हुनु बजारको विकास र उपभोक्ताको विश्वास दुवैको प्रमाण हो। यस्ता चहलपहलले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँछ।

औरही नगरपालिका–२ का स्थानीय घनश्याम यादवले भने,नयाँ वर्षमा बजारमा उपभोक्ताको भीड देख्दा स्थानिय व्यापारीहरूको मेहनत र बजारको महत्व दुवै प्रष्ट देखिन्छ। यसले स्थानीय रोजगारी र आर्थिक क्रियाकलापमा सकारात्मक प्रभाव पार्छ।

त्यसैगरी, भंगहा नगरपालिका–७ का राजेश ठाकुरले बजारमा मासु किन्न आएर अनुभव सुनाउँदै भने,नयाँ वर्षको अवसरमा उपभोक्ताको संख्या धेरै थियो, मासु तथा माछाको मूल्य अनुसार राम्रो विकल्प पाइयो। बजार व्यवस्थापन पनि ठीक छ, किनमेल गर्न सहज भयो।

बजारमा बिहानैदेखि ग्राहकको चहलपहल देखिएको थियो भने मासु तथा माछा पसलहरूमा दिनभर भीड लागेको स्थानीयवासीले बताएका छन्। चाडपर्व तथा विशेष अवसरमा औरही बजार यसरी नै चलायमान हुने गरेको जनाइएको छ।





