महोत्तरी - महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ गौशाला बजारस्थित मालपोत कार्यालयबाट सेवा लिन पुगेका सेवाग्राहीहरूले सेवा प्रवाहमा गम्भीर समस्या देखिएको गुनासो गरेका छन्। सेवा ढिलाइ,पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता र फाइल लामो समयसम्म अघि नबढ्ने अवस्थाले सर्वसाधारण हैरान बनेका हुन्।
गौशाला नगरपालिका–४ रजखोरकी सेवाग्राही तुलफी देवी महतोले आवश्यक कागजात पूरा हुँदाहुँदै पनि काम समयमा नहुने गरेको बताइन्।धेरै पटक कार्यालय आयौँ,फाइल बुझायौँ तर कहिले कर्मचारी छैन,कहिले प्रमुख छैन भनेर फर्काइन्छ,उनले भनिन्,सामान्य कामका लागि पनि हप्तौँ कुर्नुपरेको छ।
यस्तै,गौशाला नगरपालिका–५ गौशालाका सेवाग्राही जगदीश गुप्ताले मालपोत कार्यालयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सेवाग्राहीलाई दुःख दिने बाहेक सुधार नदेखिएको बताए।अदालतबाट आएको पत्रको जवाफसमेत समयमै पठाइएन,उनले भने,दबाब परेपछि मात्रै काम हुन्छ,नत्र फाइल यत्तिकै थन्किन्छ।सेवाग्राहीहरूका अनुसार जनशक्ति अभाव, कमजोर व्यवस्थापन र सेवाग्राहीमैत्री वातावरणको कमीले समस्या थप जटिल बनेको छ।यसका कारण जग्गा नामसारी, दर्ता,रोक्का फुकुवा जस्ता अत्यावश्यक सेवामा ढिलाइ भई सर्वसाधारणको दैनन्दिन जीवन प्रभावित भएको उनीहरूको गुनासो छ।
यसैबीच, सेवाग्राहीहरू गुनासो लिएर कार्यालय पुगेकै समयमा सञ्चारकर्मीको क्यामेरा देखेपछि मालपोत कार्यालय गौशालाका कार्यालय प्रमुख विष्णु कुमार महत कुर्सी छाडेर कार्यालयबाट बाहिरिएको आरोप लागेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार क्यामेराको अगाडि बोल्न नमिल्ने भन्दै कार्यालय प्रमुखले कुनै प्रतिक्रिया दिएनन्।
स्थानीय पत्रकार दिनेश महतोले घटनालाई सार्वजनिक सेवाप्रतिको गैरजिम्मेवारीको उदाहरणका रूपमा लिँदै प्रशासनिक पारदर्शितामाथि गम्भीर प्रश्न उठेको बताए। “सेवाग्राहीले प्रमाणसहित गुनासो राख्दा जवाफ दिनुको साटो कार्यालय प्रमुख क्यामेरा देखेर बाहिरिनु दुःखद हो,उनले भने।
घटनास्थलमा उपस्थित क्यामेरापर्सन इन्दल राउतले सामान्य समाचार संकलनका क्रममा क्यामेरा निकाल्नासाथ कार्यालय प्रमुख उठेर बाहिरिएको बताए।हामी सेवाग्राहीको गुनासोबारे दृश्य संकलन गर्दै थियौँ,उनले भने,क्यामेरा देख्नेबित्तिकै कार्यालय प्रमुख कुनै प्रतिक्रिया नदिई बाहिरिनुभयो,जसले घटनालाई अझै शंकास्पद बनाएको छ।
प्राप्त जानकारीअनुसार गौशाला नगरपालिका–२ का सेवाग्राही सुरेन्द्र महतोले यही महिनाको १ गते अदालतबाट प्राप्त पत्रको जवाफ पठाउन कार्यालयका एक कर्मचारीलाई जिम्मा दिएका थिए। तर विभिन्न बहानामा काम ढिलाइ गरिँदा करिब २० दिनपछि मात्रै जवाफ पठाइएको उनको गुनासो छ।
सेवाग्राहीहरूका अनुसार केही दिनअघि सेवा समयमा नदिएको विरोधमा मालपोत कार्यालयको गेटमा तालाबन्दीसमेत गरिएको थियो। सो अवसरमा सञ्चारमाध्यमसँग कुरा गर्दै कार्यालय प्रमुख महतले समयमा सेवा नदिने कर्मचारीलाई कारबाही गरिने बताएका थिए।
तर सोही भनाइलाई आधार मानेर प्रमाणसहित गुनासो राख्न खोज्दा कार्यालय प्रमुख बाहिरिएको आरोप सेवाग्राहीहरूको छ।यस विषयमा प्रतिक्रिया लिन खोज्दा कार्यालय प्रमुख विष्णु कुमार महतले क्यामेराको अगाडि बोल्न अस्वीकार गरेका छन्। सेवाग्राहीहरूले घटनाको निष्पक्ष छानबिन गरी सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
मधेश प्रदेशअन्तर्गतका मालपोत,भूमि सुधार तथा नापी कार्यालयहरूको कार्यशैलीप्रति समेत आम सेवाग्राही असन्तुष्ट देखिन थालेका छन्।




