जनकपुर – मधेश प्रदेशका ६४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये पहिलोपट एक महिलालाई निर्वाचन अधिकृतको रूपमा खटाउने निर्णय गरिएको छ ।
सर्वोच्च अदालतमा कार्यरत इजलास अधिकृत नूतन झा पर्सा–४ निर्वाचन क्षेत्रको निर्वाचन अधिकृत नियुक्त भएकी छन् ।
निर्वाचन आयोगले आगामी २१ फागुनका लागि तय प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको हो ।
आयोगका अनुसार यसपटक जम्मा १६५ क्षेत्रमा निर्वाचन अधिकृत खटाइएको छ ।
निर्वाचन अधिकृतहरूको विवरणमा ७७ न्यायाधीश मुख्य निर्वाचन अधिकृतका रूपमा र न्यायसेवाका अन्य ८८ सहसचिव तथा उपसचिव निर्वाचन अधिकृतको रूपमा खटाइएको उल्लेख छ ।
उनीहरूलाई २ माघदेखि कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्यक्रम सुरु गर्न निर्देशन दिइएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता ६ माघबाट सुरु हुनेछ ।


