महोत्तरी — महोत्तरीसहित मधेसका विभिन्न स्थानमा लायन्स क्लबले चिसो प्रभावितलाई गाउँटोलमै पुगेर सिरक वितरण गरेको छ।
क्लबका गभर्नर केशरबहादुर भण्डारीसहितको टोली मधेसका विभिन्न टोलमा पुगेर सिरक र म्याट वितरण गरिरहेको लायन्स क्लबका जोन पर्सन उमेशकुमार महतोले बताए।

महोत्तरीको बर्दिवास-१४ स्थित नमुना मुसहर बस्ती, बर्दिवास २ र १४ का अन्य बस्तीसँगै गौशालामा समेत लायन्स क्लब बर्दिवासले ८० घरपरिवारलाई सिरक र म्याट वितरण गरेको महतोले बताए।
वडा कार्यालय र विपन्न बस्तीका परिवारलाई न्यानो कपडा बाँडिएको लायन्स क्लब बर्दिवासले जनाएको छ। सिराहाको लाहान, मिर्चैया, धनुषाको ढल्केवर, जनकपुर र महोत्तरीको विभिन्न ठाउँमा पुगेर चिसोबाट समस्या भोगिरहेकालाई राहत उपलब्ध गराएको क्लबले जनाएको छ।
तराईमा शीतलहर मध्यनजर गरी न्यानो कपडा वितरण गर्न लायन्स इन्टरनेशनल ३२५ एफ अन्तर्गतका सबै क्लब सक्रिय भएको गभर्नर भण्डारीले बताए।




