महोत्तरी - महोत्तरीसहित तराई–मधेसका अधिकांश क्षेत्रमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हुस्सु र कुहिरो दिउँसोसम्म कायमै रहने सम्भावना छ।
महोत्तरी जिल्लाको औरही नगरपालिका लगायत सम्पूर्ण महोत्तरी जिल्लामा हाल न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ। बाक्लो हुस्सु र कुहिरोका कारण चिसोको अनुभूति बढेको छ।
हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायातमा आंशिक असर पर्न सक्ने जनाउँदै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महोत्तरीसहित तराई–मधेस क्षेत्रमा पछिल्ला केही दिनदेखि निरन्तर हुस्सु र कुहिरो लागिरहेकाले जनजीवन प्रभावित हुँदै आएको छ।
चिसो बढेसँगै विपन्न वर्ग तथा मजदुर बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा चिसोसम्बन्धी रोगको जोखिम बढ्दै गएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ।
यसैबीच, आज बिहान पौने ६ बजे गरिएको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ। हिजो काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको थियो।




