
विष्णु गुप्ता,महोत्तरी - जोखिममैं परिवर्तन’ हुन्छ भन्ने सन्देशलाई यथार्थमा बदलिदिएका श्री हनुमान फलफुल नर्सरीका संचालक रामबलेश साहको कथा वास्तवमा प्रेरणामूलक छ । प्रायः किशोरावस्थामा आफ्नो लक्ष्य र रुचिप्रति अनिर्णित हुने अवस्थालाई हेर्दा, रामबलेश साहलाई भने आफ्नो रुचि राम्ररी थाह थियो । “२५ वर्षको हुँदा स्थानिय हाटबजार पुगेर खानेतेल,मट्टितेल विक्री गर्दै थिए तर मन भने केहि नयाँ गर्नुपर्छ भन्नेमा केन्द्रित थियो गाउँमा हुर्केको हुँदा माटोसँग प्रेम त थियो नै जीविकोपार्जनका लागि कृषिलाई नै रोजगारी बनाए“ रामबलेश साह बताउछन ।तीन कक्षा सम्म मात्र अध्ययन गर्न पाएका रामबलेश साहलाई कृषिबारे खासै जानकारी भने थिएन, न त ठुलो पूँजी नै थियो तर सीप आर्जन गर्न साह दृढ़ संकल्पित थिए ।
गौशाला कृषि कार्यालयका जे.टी.ए तथा कृषि सम्बन्धी प्रशिक्षण दिने कर्मचारी गाउँमा पुग्दा उनी हर्षका साथ पुग्ने गरेको र आफ्नो जिज्ञासाहरु समेत राख्ने गर्दथे । तालिमहरुमा पुग्दै ज्ञान आर्जन गर्दै परम्परागत कृषि र आवश्यक प्राविधिक सीप पनि हासिल गरेर । उनले २०५३ सालमा आफ्नै घडेरीको १० धुर जग्गामा श्री हनुमान फलफुल नर्सरी संचालन गरे ।

जेटिएले कलमी विरुवा तयार गर्न सिकाई दिएपछि बिस्तारै उनले दैनिक ३० रुपया मात्र आमदनी हुने तेल बिक्री गर्ने व्यापारलाई छोडेर कृषि पेशा तर्फ धैर्यपूर्वक समर्पित भए ।त्यसपछि कैयौ तालिम प्राप्त गर्ने अवसर पाएका कृषक रामबलेश साह अहिले २ विग्हा जग्गामा चार ठाउँमा आफनै नर्सरी संचालनमा रहेको बताए ।नर्सरीकै आम्दानीबाट २०५८ साल तिर एक विग्हा १० कट्ठा जग्गा खरिद गरी नर्सरी क्षेत्रमै दुई तले पक्की घर र हनुमान मन्दिर समेत निर्माण गरेको कृषक साहले बताए ।
अहिले महोत्तरीको गौशाला नगरपालिका–३ ईटाटारमा उनको श्री हनुमान फलफुल नर्सरी संचालनमा रहेको छ । श्रीमती र तिन छोरासँगै सपरिवार उनको दिनचर्या नर्सरीमा बिरुवा हुर्काउन,विक्रीवितरण गर्न र नयाँ अनुभव आर्जन गर्नेमैं बित्छ । दैनिक ३० रुपयाको आमदानी मात्र गर्ने कृषक साह वर्षको लाखौ आम्दानी आर्जन गर्न भ्याएका छन भने कैयौलाई रोजगार समेत दिएका छन ।

कृषि व्यवसायबाट उनले आफ्नो छोराहरुलाई राम्रो शिक्षा पनि दिन सफल भए घरपरिवारको लालशा पूर्ति गरे । कृषि कर्ममा उनले गरेको संघर्ष र पाएको सफलताले २०७१/०७२ मा उनलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारको प्रमाण पत्रले उनि सम्मानित भए । अहिले समाजिक प्रतिष्ठामा वृद्धि र परिवारको आर्थिक अवस्था सबल गर्न कृषि पेशाले धेरै थोक दिएको र आफ्नो संघर्षबाट सन्तुष्ट भएको कृषक रामबलेश साहले आफ्नो खुशी व्यक्त गर्छन् ।

वार्षिक १५ देखी २० लाख समम् आमदानी दिने उनको श्री हनुमान फलफुल नर्सरी कोरोना कालपछि मन्दि अनुभव गरेपनि पेशालाई निरन्तरता दिदै ३६ प्रकारको विभिन्न जातको फलफुल र विरुवाहरु उत्पादन र विक्रि वितरण गर्दै आएको उनले बताए। यस क्षेत्रमा दुर्लभ मानिने मरिचको खेतीसँगै आफ्नै नर्सरीमा फुलेको फुलबाट बिहेमा जन्ति जाने सवारी साधनलाई सजाएर अतिरिक्त आमदानी पनि गर्नेगरेको उनले बताए । दैनिक ३० रुपयाको आमदानीलाई छोडेर कृषि पेशामा आउने जोखिम नलिएका भए कृषक रामबलेश साहको दैनिकी र जीवनमा परिवर्तन नहुँन् पनि सक्थयो ।वैदेशिक रोजगारलाई त्यागेर माटोसँगको प्रेमले उहाँलाई जीवनभरीको रोजगारी दिएसँगै मान प्रतिष्ठालाई सम्मान योग्य बनाईदियो ।