सुजाता राई
मोरङ । काठमाडौँका गजलकार मानन्धर अभागी मोरङको बेलबारीमा सम्मानित भएका छन् । कोसी साहित्य–कला परिषद् नेपालको आयोजना र शिक्षा सन्देश इङ्ग्लिस स्कुलको सहयोजनामा सम्पन्न कार्यक्रममा उनी सम्मानित भएका हुन् ।
नेपाली गजलका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अभागीलाई सम्मान गरिएको थियो । कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार हर्कमान तामाङ र शिक्षा सन्देश इङ्ग्लिस स्कुलका सहायक प्रधानाध्यापक विशाल राईले संयुक्त रूपमा गजलकार अभागीलाई सम्मान गरेका छन्।
उक्त कार्यक्रममा गजलकार अभागीले आधा दर्जन नेपाली तथा हिन्दी गजल वाचन गरेका थिए । उनले अधिकांश गजल तरन्नुममै गाएर सुनाएका थिए । विशेष गरेर प्रेमिल विषयका गजल लेख्न रुचाउने मानन्धरले उक्त अवसरमा प्रेमिलका अतिरिक्त केही सामाजिक तथा व्यङ्गयचेत भएका गजलसमेत वाचन गरेर सुनाए । गजलका साथमा अभागीले गजल लेखनसम्बन्धी अनुभवसमेत सुनाउँदै मञ्च दिएर आफूलाई सम्मान गरेकामा आयोजक संस्थाप्रति आभार व्यक्त गरे साथै उनले साहित्यमा नयाँ पुस्ता आउन नसकेकामा भने गुनासोसमेत व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार हर्कमान तामाङले यस्ता कार्यक्रमले अग्रजको सम्मान हुने विचार व्यक्त गर्दै निरन्तरताको कामनासमेत गरे । सुन्दरहरैँचा कला साहित्य विकास समितिका संस्थापक अध्यक्ष डा. छवि वैरागी घिमिरेले गजल के हो, के होइन भन्ने सैद्धान्तिक विवाद गर्नुभन्दा पनि स्रष्टाको काम लेख्ने रहेकाले लेख्न छोड्न नहुने विचार व्यक्त गरे । शिक्षा सन्देश इङ्ग्लिस स्कुलका सहायक प्रधानाध्यापक विशाल राईले एक जना अग्रज स्रष्टालाई सम्मान गर्ने कार्यक्रममा सहकार्य गर्न पाएकामा खुसी व्यक्त गरे । उक्त कार्यक्रममा बेलबारी र सुन्दरहरैँचामा रहेका विभिन्न साहित्यिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा साहित्यका अतिरिक्त शैक्षिक, सामाजिक व्यक्ति, शिक्षक तथा विद्यार्थीहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा डा. छवि वैरागी घिमिरे, रमेश निरौला, तिला लेकाली, चिरञ्जीवी काफ्ले र एकराज भट्टराईका एक एकओटा गजल वाचन गरिएका थिए ।
उक्त कार्यक्रममा विदुर सुवेदी, शेखर थापा मगर, सञ्जीव धिमाल, शारदा दाहाल भण्डारी, आइतराज लिम्बू, सुन्दर भट्ट, दीपक नेपाल, हिरा खड््का, जुनु बुढाथोकी, राजु परियारलगायका स्रष्टा÷कलाकारहरूको उपस्थिति रहेको थियो ।
लामो समयदेखि गजल लेख्तै आएका गजलकार अभागी पूर्व आएको अवसर पारेर उनको सम्मानार्थ एकल गजल वाचनको आयोजना गरिएको आयोजकले जनाए। कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव नवराज पोखरेल ‘नवशिला’ले सम्हालेका थिए।




