बर्दिवास। ओमकार टेलिभिजनको चर्चित कार्यक्रम ‘पञ्चामृत’ मा हालै महोत्तरी बर्दिवासकी साहित्यकार तथा गायिका जमुना पोखरेल र धनुषाका स्रष्टा गणेश तिमलसिना 'गति'सँग विशेष साहित्यिक संवाद सम्पन्न भएको छ ।
कार्यक्रम प्रस्तोता जीवनराज दाहालसँगको कुराकानीमा दुवै सर्जकले आफ्ना नयाँ कृति, सिर्जनात्मक संघर्ष र समाजप्रतिको जिम्मेवारीबारे धारणा राखेका छन् ।
धनुषाका गणेश तिमलसिना ‘गति’ ले हालै ‘मनोगति’ शीर्षकको मुक्तक सङ्ग्रह बजारमा ल्याएका छन् । पेशाले शिक्षकसमेत रहेका तिमलसिनाको यस कृतिमा ३३६ वटा मुक्तक समेटिएका छन्, जसमा राजनीतिक चेतना, सामाजिक विकृति, आर्थिक असमानता, शैक्षिक चुनौती र वैदेशिक रोजगारीको पीडालाई संक्षिप्त तर प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ । करिब पाँच वर्षको अवधिमा सिर्जना गरिएका झण्डै एक हजार मुक्तकमध्ये छनोट गरी ‘मनोगति’ तयार पारिएको हो । कमला साहित्य कला समाज, धनुषाका अध्यक्षसमेत रहेका तिमलसिनाले स्थानीय तहमा साहित्यिक गतिविधि अभाव देखिएपछि नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त संस्था स्थापना गरेको बताए । उनले ‘मनोगति’ पुस्तक बिक्रीबाट प्राप्त रकम व्यक्तिगत लाभका लागि नभई संस्थाको विकास तथा उदयमान सर्जकहरूको सहयोगमा खर्च गरिने जानकारी दिएका छन् ।
यसै कार्यक्रममा बर्दिवासकी लेखिका तथा गायिका जमुना पोखरेलले आफ्नो नयाँ कविता सङ्ग्रह ‘शान्तिको दीप’ को चर्चा गरिन् । उनले साहित्य र संगीत दुवै माध्यमबाट समाजका संवेदनशील विषय उठाउँदै आएकी छिन् । ‘ए चेली नजाउन खाडीमा’ लगायतका चर्चित एल्बममार्फत सामाजिक सन्देश दिँदै आएकी पोखरेलका कविताहरूमा आमाको ममता, वैदेशिक रोजगारीमा गएका सन्तानको पीडा, महिला जीवनका संघर्ष र सामाजिक यथार्थ स्पष्ट रूपमा अभिव्यक्त भएका छन् ।
पोखरेलले ‘शान्तिको दीप’ नामकरण गर्नुको उद्देश्य महिलालाई घर तथा समाजको उज्यालोका रूपमा चित्रण गर्नु र साहित्यमार्फत शान्ति, सहअस्तित्व र सद्भावको सन्देश फैलाउनु रहेको बताइन् । उनका अनुसार घरपरिवारको जिम्मेवारी र सामाजिक गतिविधिका बीच उनी प्रायः रातको समयमा साहित्य सिर्जना गर्ने गर्छिन् । उनले ४५ वर्षको उमेरमा छोरीको विवाहपछि पुनः अध्ययन सुरु गरी कक्षा १२ सम्मको पढाइ पूरा गरेकी जीवनकथा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।
कार्यक्रममा दुवै सर्जकले साहित्यलाई समाजको यथार्थ प्रतिबिम्बित गर्ने सशक्त माध्यमका रूपमा व्याख्या गरे । तिमलसिनाले मुक्तक विधाबाट छोटो संरचनामै गहिरो भाव सम्प्रेषण गर्न सकिने बताए भने पोखरेलले कविता र संगीतमार्फत महिला तथा श्रमिक वर्गका आवाज बुलन्द गरिरहेकी छिन् ।
‘मनोगति’ र ‘शान्तिको दीप’ दुवै कृतिले नेपाली समाजका विविध आयामलाई आ–आफ्नो शैलीमा प्रस्तुत गरेका छन् । यी कृतिहरूले पाठकलाई साहित्यिक आनन्द मात्र होइन, सामाजिक चेतना र सोच्न बाध्य पार्ने सन्देश पनि दिने अपेक्षा गरिएको छ ।




