बर्दिवास । महोत्तरीको बर्दिवासमा अपांगता भएका बालबालिकाको अधिकार, संरक्षण र समावेशी विकास विषयमा केन्द्रित क्षमता अभिवृद्धि तालिम आइतवारदेखि सुरु भएको छ।
गुणस्तरीय समावेशी प्रारम्भिक बालविकास तथा शिक्षाका लागि साझेदारी परियोजना अन्तर्गत आयोजना गरिएको यस तालिमले स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको ज्ञान र क्षमता बढाउने लक्ष्य राखेको छ।




सार्क डेभेल्पमेन्ट फन्डको आर्थिक सहयोग तथा सेभ द चिल्ड्रेनको प्राविधिक सहयोगमा रतौली युवा क्लब (आरवाइसी) को आयोजनामा सुरु भएको उक्त तालिम मङ्गलवारसम्म सञ्चालन हुनेछ। परियोजनाका वरिष्ठ संयोजक विनोद साहका अनुसार तालिममा अपांगता भएका बालबालिकाको सवाललाई नीतिगत तथा व्यवहारिक रूपमा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा विशेष जोड दिइएको छ।
तालिममा पीपरा गाउँपालिका, बलवा नगरपालिका र मनरासिस्वा नगरपालिकाका उपमेयरहरू, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुखहरू, अपांगता समन्वय समितिका सदस्यहरू तथा आरवाइसीका परियोजना कर्मचारीसहित ३५ जनाको सक्रिय सहभागिता रहेको छ। सहभागीहरूलाई स्थानीय तहमा समावेशी नीति निर्माण, योजना तर्जुमा र प्रभावकारी कार्यान्वयनका उपायबारे प्रशिक्षण दिइँदैछ।

सेभ द चिल्ड्रेनकी अपांगता समावेशी विज्ञ अजना श्रेष्ठ तथा न्युरो फाउन्डेशन नेपालकी केस म्यानेजर तथा मनोवैज्ञानिक रमा कार्की प्रशिक्षकका रूपमा सहभागी छन्। तालिममार्फत अपांगता भएका बालबालिकाका आवश्यकता, अधिकार र सम्भावनालाई केन्द्रमा राखेर स्थानीय तहमा नीति तथा कार्यविधि तयार गर्न सहयोग पुग्ने आयोजक संस्थाले विश्वास व्यक्त गरेको छ। यसले दीर्घकालीन रूपमा समावेशी र गुणस्तरीय शिक्षा प्रणाली विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।




