शर्मिला घिमिरे
लैङ्गिक न्याय, समावेशी पत्रकारिता तथा पीडित–केन्द्रित रिपोर्टिङ प्रवर्द्धन गर्ने उद्देश्यले मधेश प्रदेशको जनकपुरमा एकदिने लैङ्गिक न्यायमूलक पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । कार्यशालाले लैङ्गिक हिंसाविरुद्ध सञ्चार क्षेत्रको भूमिका सुदृढ गर्दै महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षणमा पत्रकारिताको जवाफदेहिता बढाउने लक्ष्य लिएको थियो ।
कार्यशालामा लैङ्गिक हिंसा, हानिकारक सामाजिक मूल्य–मान्यता तथा भेदभावपूर्ण अभ्यास अन्त्यमा सञ्चारमाध्यमको प्रभावकारी भूमिका विषयमा गहन छलफल गरिएको थियो । कार्यक्रममा छोरीलाई बोझ नभई परिवार र समाजका महत्वपूर्ण सदस्यका रूपमा हेर्नुपर्ने, बाल तथा किशोर विवाह ढिलाइ गर्दा शिक्षा पूरा गर्ने र आत्मनिर्भर बन्ने अवसर बढ्ने, तथा ‘माया गर्नेले कहिलेकाहीँ हिंसा गर्छ’ भन्ने सोच गलत भएको सन्देशमा केन्द्रित छलफल भएको थियो ।

यसैगरी, स्वस्थ सम्बन्धले परिवारमा खुसी र आपसी सम्मान बढाउने, संवादमार्फत विवाद समाधान गर्न सकिने तथा हिंसाको घटनालाई रिपोर्ट गर्नु सामाजिक जिम्मेवारी भएको विषयमा सहभागीहरूबीच अन्तरक्रिया गरिएको थियो । कार्यशालामा हिंसाको रिपोर्टिङले अन्य व्यक्तिलाई हिंसाबाट जोगाउन सहयोग गर्ने र रिपोर्ट नगर्नुले हिंसालाई अप्रत्यक्ष रूपमा प्रोत्साहन गर्ने सन्देश दिइएको थियो ।

मधेस प्रदेशका धनुषा, महोत्तरी, पर्सा, बारा र सर्लाहीका ४२ जना पत्रकारहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यशाला बेलायत सरकारको आर्थिक सहयोग तथा पीपुल इन निड नेपालको नेतृत्वमा दिव्य विकास स्रोत केन्द्र, पर्सा र हामी दाजुभाइ संस्थाको सहकार्यमा मधेश प्रदेशमा सञ्चालन भइरहेको लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य कार्यक्रमअन्तर्गत आयोजना गरिएको हो । आयोजक संस्थाका अनुसार कार्यक्रम नेपाल पत्रकार महासङ्घका जिल्लास्तरीय शाखासँगको समन्वयमा सञ्चालन गरिएको हो ।
कार्यशालाअन्तर्गत लैङ्गिक समानता तथा सामाजिक रूपान्तरणका क्षेत्रमा सक्रिय १० जना पत्रकारलाई फेलोसिप प्रदान गरिने जानकारी पनि गराइएको छ । उक्त फेलोसिपमार्फत पत्रकारहरूलाई लैङ्गिक न्यायमूलक रिपोर्टिङमा थप दक्ष बनाइने लक्ष्य राखिएको छ ।
कार्यशालाको सहजिकरण वरिष्ठ पत्रकार आरती चटौतले गर्नुभएको थियो । साथै मधेश प्रदेशमा रहेर पत्रकारिता गर्दै आउनुभएका पत्रकार लक्ष्मी चौधरीले मधेसमा महिला अधिकार प्रबद्र्धनमा पत्रकारको भुमिका र पत्रकारहरुको आचारसंहिताका विषयमा छलफल गर्नुभएको थियो ।

हामीदाजुभाइको कार्यक्रम प्रबन्धक सुमिक्षा खड्काले कार्यक्रमको सुरुवात गर्दै उद्देश्यमा प्रकाश पार्नुभएको थियो भने पिपुल इन निड नेपालका कार्यक्रम प्रबन्धक सुनिल कुमार साहले सुरक्षा र न्याय कार्यक्रमको बारेमा विस्तृत जानकारी दिनुभएको थियो । साथै पिपुल इन निड नेपालका कार्यक्रम प्रबन्धक अनुरोध साहले समापमा बोल्दै लैङ्गिक रूपान्तरण का लागी पत्रकारहरुको अपरिहार्य भुमिकालाई जोड दिनुभएको थियो । हामी दाजुभाइका कार्यकारी निर्देशक संजोग ठकुरीले कार्यक्रमको समापन गर्दै सबै सहभागीहरुलाई लैङ्गिक न्यायमुलक पत्रकारीताको लागी शुभकामना व्यक्त गर्नुभएको थियो ।
आयोजक संस्थाहरूले यस्ता कार्यशालाले पत्रकारिता मार्फत सामाजिक रूपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।




