काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व विवाद प्रतिनिधिसभा निर्वाचनको मनोनयनकै दिन सर्वोच्च अदालत सुनुवाइ हुने भएको छ। निवर्तमान सभापति शेरबहादुर देउवापक्षधर समूहले दर्ता गराएको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले यही माघ ६ गतेका लागि पेसी तोकेको हो । त्यसै दिन फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि सो निर्णय उल्ट्याउन माग गर्दै देउवा पक्षधर समूहले आइतबार (माघ ४ गते) सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ ।



रिट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा दर्ता गरिएको छ । देउवा समूहका कानुन व्यवसायीले रिट दर्ता भएकै दिन पेशी तोक्न आग्रह गरे पनि सर्वोच्च प्रशासनले सोही दिन सुनुवाइ गर्न सम्भव नभएको जनाएको थियो ।
सर्वोच्च प्रशासनका अनुसार रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि माघ ६ गतेको मिति तय गरिएको हो । उक्त दिन नै प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता हुँदै छ, जसका कारण कांग्रेसभित्रको विवादले चुनावी प्रक्रियामा समेत प्रभाव पार्ने सम्भावना देखिएको छ ।




