जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहजनक रूपमा सम्पन्न भएको छ।
यसै क्रममा सबैको चासोको केन्द्र रहेको धनुषा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र नारायण निधिले आफ्नो मनोनयन दर्ता गराएका छन्।



सोही क्षेत्रमा नेकपा एमालेकी नेतृ जुली महासेठले पनि सशक्त उम्मेदवारी दर्ता गराउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रवक्ता मनिष झाले पनि चुनावी प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गरेका छन्। यसपटकको निर्वाचनमा प्रमुख दलका साथै नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारहरूको पनि उल्लेख्य सहभागिता देखिएको छ।
जसपा नेपालका तर्फबाट परमेश्वर शाह र नेपाल कम्युनिस्ट पार्टीबाट राम ललित मण्डलले उम्मेदवारी दर्ता गराउँदा श्रम संस्कृति पार्टीबाट सद्दाम हुसेन र राष्ट्रिय मुक्ति पार्टीबाट राजीव झाले पनि मनोनयन दर्ता गरेका छन्।
त्यसैगरी, पत्रकार दिवाकर शाहले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिने घोषणा गर्दै आफ्नो मनोनयन दर्ता गराएका छन्। यससँगै धनुषा–३ मा हेभिवेट नेताहरूदेखि स्वतन्त्र उम्मेदवारसम्मको रोचक प्रतिस्पर्धा हुने देखिएको छ।




