मधेस प्रदेशको राजधानी जनकपुरधामसँगै गाँसिएको निर्वाचन क्षेत्र धनुषा–४ मा एमाले–कांग्रेसको दशकौँ पुरानो वर्चस्वलाई चुनौती दिन राष्ट्रिय स्वतन्त्र पार्टी चुनावी मैदानमा सक्रिय देखिएका छन् ।
एमाले – काङ्ग्रेसको दबदबा रहेको यस निर्वाचन क्षेत्रमा
राष्ट्रिय स्वतन्त्र पार्टी उदाउँछ कि फेरि पुरानै शक्ति दोहोरिन्छ भन्ने प्रश्नले आमजनमानसलाई दुई ध्रुवमा बाँडेको छ। चारवटा निर्वाचन क्षेत्र रहेको धनुषामा चार नम्बर क्षेत्रमा १२ जनाले विभिन्न राजनीतिक दलहरूबाट र २५ जना स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन् । नेकपा एमालेको प्रभावशाली क्षेत्र मानिएको यस भेगमा नेपाली कांग्रेस जित निकाल्न संघर्षरत रहँदै आएको विगतको ईतिहासले देखाउँछ ।



विगतको निर्वाचन अंकगणित हेर्दा
विसं २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका रघुवीर महासेठले २ हजार ५४१ मतान्तरले विजयी भएका थिए। महासेठले २२ हजार ५३२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र यादवले १९ हजार ९९१ मत पाएका थिए । तत्कालीन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका उम्मेदवार महाजन यादवले भने १९ हजार ६६२ मत प्राप्त गरेका थिए । त्यतिबेला नेकपा एमाले तुलनात्मक रूपमा बलियो अवस्थामा थियो । एमालेलाई त्यसबेला नेकपा माओवादीको पनि साथ रहेको थियो ।
नेकपा (एमाले) मा लामो समयदेखि चल्दै आएको आन्तरिक कलहका कारण भदौ २, २०७८ मा पार्टी औपचारिक रूपमा विभाजित भई वरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको थियो। जसले गर्दा नेकपा एमाले मा ठुलो क्षति हुने सम्भावना देखिएपनि विसं २०७९ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ नै धनुषा -४ बाट पुनः विजय भए । महासेठले यादवलाई १२४ मतको झिनो मतान्तरले पराजित गरेका थिए ।
महासेठ ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा महेन्द्र यादवले ३२ हजार ११२ मत पाएका थिए । जबकि महेन्द्र यादव बाम गठबन्धनका साझा उम्मेदवार थिए। तर रघुवीर महासेठ को अगाडी महेन्द्र यादवको बाम गठबन्धन अन्ततः फ्लप भए । त्यसबेला जनता समाजवादी पार्टी नेपालका उम्मेदवार महाजन यादवले ५२१२ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेदवार कृष्ण कुमार महतोले ४३४३ मत प्राप्त गरेका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार संजय कुमार यादवले १ हजार १ सय २१ मत प्राप्त गरेका थिए ।
यसपाली कसको सम्भावना कति ?
१. रघुवीर महासेठ ( नेकपा एमाले )
गत वर्ष दुवै निर्वाचनलाई फर्केर हेर्दा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ नै बलियो उम्मेदवार का रुपमा देखिन्छ । नेकपा एमालेका उपमहासचिव रहेका महासेठ थुप्रै पटक मन्त्री र उपप्रधानमन्त्री समेत भईसकेका नेता हुन् । महासेठ आफ्नो क्षेत्रमा एमालेका नेता-कार्यकर्ताहरूलाई एकीकृत गर्नसक्ने नेताका रूपमा मानिन्छन् । उनी आफ्नो क्षेत्रका एमाले नेता-कार्यकर्ताका लागि सर्वस्वीकार्य जस्तै हुन् ।
उनको संसदीय राजनितिक यात्रा विसं २०६५ सालको उपनिर्वाचनबाट भएको थियो।
डा. रामवरण यादव प्रथम राष्ट्रपति बनेपछि महासेठ २०६५ को संविधानसभा उपनिर्वाचनमा धनुषा-५ बाट जितेर संसदीय राजनीतिमा इन्ट्री गरेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा राष्ट्रपतिपुत्र चन्द्रमोहन यादवसँग हार व्यहोर्नु परेको थियो । त्यसपछि उनी २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सानदार जित हात पारेका थिए । र यसपाली फेरि पनि मुख्य उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा छन् ।
गत वर्षको प्रतिनिधि सभा निर्वाचनमा रघुवीर महासेठको श्रीमती जुलि महतो महासेठ पनि धनुषा निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएकी थिइन्। उनी फेरि पनि उम्मेदवार का रुपमा धनुषा -३ मा सक्रिय छिन्। महासेठ दम्पति मिलेर धनुषा निर्वाचन क्षेत्र नं ३ र ४ मा आफ्नो वर्चस्व कायम राख्न प्रयासरत छन् ।
२. महेन्द्र यादव (नेपाली कांग्रेस)
उनी यसअघि दुई पटक यसै क्षेत्रबाट चुनाव लड्दै आएका थिए । दुवै पटक उनी नेकपा एमालेका रघुवीर महासेठसँग पराजित भएका थिए । विसं २०७९ सालको निर्वाचनमा लगभग जित सुनिश्चित भईसकेको अवस्था नमिठो हारले समग्र नेपाली कांग्रेसलाई धनुषा -४ मा स्तब्ध बनाई दिए । उनी त्यसबेला बाम गठबन्धनका साझा उम्मेदवार थिए तर १२४ मतको झिनो मतान्तरले उनी हार व्यहोरे । यसपाली उनी एक्लै चुनावी मैदानमा छन् । महेन्द्र यादवको सुखद पक्ष के छ भने उनका पुराना सहकर्मी संतोष यादव नेपाली कांग्रेसमा फर्किएका छन् ।
महेन्द्र यादव नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री हुन् । शेरबहादुर देउवा निकट मानिएका यादव भर्खरै सम्पन्न भएको नेपाली कांग्रेसको विशेष महाधिवेशन का विपक्षमा थिए।
३. राजकिशोर महतो (रास्वपा)
उनी तत्कालिन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बाट विसं २०७४ सालमा प्रदेश सभाको उम्मेदवार भईसकेका नेता हुन् । उनी त्यसबेला धनुषा निर्वाचन क्षेत्र नं -४ ‘ख’ प्रदेश सभा तर्फ तेस्रो स्थान ल्याउन सफल भएका थिए । तर यसपाली उनी फरक अन्दाजमा देखिएको छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नं -४ मा योग्य उम्मेदवार का रुपमा प्रस्तुत भएका छन् ।
४. ई. संजय कुमार महतो (नेकपा)
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी बाट ई. संजय कुमार महतो उम्मेदवार छन् । अखिल क्रान्तिकारी विद्यार्थी संगठनबाट उदाएका नेता का रुपमा उनी परिचित छन् तर संगठनात्मक किसिमले त्यस क्षेत्रमा पार्टी कमजोर रहेको देखिन्छ । महतो युवा जेनजी युवा समुहको प्रतिनिधित्व गर्ने धनुषा -४ का सबैभन्दा कान्छो उम्मेदवार हुन् ।
५. ई.डा.कृष्णचन्द्र साह ( जसपा नेपाल )
जनता समाजवादी पार्टी नेपालको तर्फबाट ई.कृष्णचन्द्र साह उम्मेदवार छन् । उनी यसअघि २०७९ सालको निर्वाचनमा नेपाल लोकतान्त्रिक पार्टी बाट उम्मेदवार हुँदा २०४ मत प्राप्त गरेका थिए ।
मधेस आन्दोलनको प्रभावका कारण यस पार्टी भित्र विसं २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा जनमत देखिएपनि,२०७९ सालको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका तत्कालीन उम्मेदवार महाजन यादव अपेक्षा भन्दा धेरै कम मत ल्याएका थिए ।
त्यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टी बाट ईन्द्रजित यादव र आम जनता पार्टीबाट सम्पत महतो कोइरी , राष्ट्रिय प्रजातन्त्र पार्टी बाट रामबाबु साह हलुवाई र राष्ट्रिय मुक्ति पार्टी बाट महावीर यादव छन् । यस निर्वाचन क्षेत्रमा अन्य उम्मेदवारहरू भएपनि तिनिहरुको भुमिका डमी उम्मेदवार का रुपमा मात्र देखिएको छ।
के छ अवस्था ?
धनुषा क्षेत्र नं. ४ अन्तर्गत पर्ने पाँच वटा पालिका मध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका काँग्रेसले जितेको छ। उसले क्षिरेश्वरनाथ नगरपालिकाको उपमेयर सहित बहुसङ्ख्यक वडा पनि जितेको छ। एमालेले मिथिला नगरपालिकाको उपमेयर सहित बहुमत वडा जितेको छ। धनुषा -४ मा मिथिला नगरपालिकाको वडा नं.४, क्षिरेश्वरनाथको वडा नं. ८ र ९, मिथिला विहारी नगरपालिकाको १,३,४ र ५ वडा पर्दैन । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ९,१३,१४,१९, २१ र २२ गरी पाँच वटा भने यसै क्षेत्रमा पर्दछ।
यो क्षेत्रमा पर्ने ४२ वडामा पार्टीका वडाध्यक्षहरूले पाएको मतको आधारमा अलि कम बढी काँग्रेस र एमालेको शक्ति उस्ता उस्तै देखिन्छ। यद्यपि काँग्रेस पहिलो दलको रुपमा छ । तर पार्टी भित्रको आन्तरिक द्वन्द्व लाई व्यवस्थापन गर्न नसक्दा नेपाली कांग्रेसले आफ्नो पक्षमा नतिजा ल्याउन सफल नभएको अवस्था देखिएको थियो ।
बालेन क्रेज र नतिजा फरक हुन सक्छ
धनुषा सहित मधेसका जिल्लाहरू मा राष्ट्रिय स्वतन्त्र पार्टी संगठन नरहेको बेला काठमाडौं महानगरपालिका का पुर्व मेयर बालेन्द्र साहलाई भावी प्रधानमन्त्रीका रुपमा सारे लगत्तै मधेसमा अबकी बार-बालेन सरकारको नारा गुञ्जाउँदै रास्वपाका उम्मेदवार राजकिशोर महतो भोट माग्न व्यस्त छन् ।
माघ ५ गतेको बलिदानी दिवस को दिन पारेर जनकपुरधाम मा परिवर्तन उद्घोषण सभामा बालेनको आगमन र उनले भाषण गरेको स्थानीय भाषाले गर्दा रास्वपातिर एक किसिमको आर्कषण देखिए पनि मत कतिको आउँछ त्यो हेर्न बाँकी छ। बालेनलाई भावी प्रधानमन्त्री र मधेश पुत्रको फ्याक्टरले धनुषा सहित मधेसका जिल्लाहरूमा रास्वपा भन्दा पनि बोलेन प्रतिको क्रेज बढेको छ । जेनजी उमेर समूहका युवाहरु पनि रास्वपा प्रति आकर्षित देखिएको छ। तर मधेसमा देखिने क्रेज र वास्तविक नतिजा भने एकदमै फरक हुन्छ ।
फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन आउन समय बाँकी नै रहेकाले धनुषा -४ मा कसको सम्भावना कति छ भन्ने कुरा आउने दिनहरुमा अझ बढी प्रष्ट हुन्छ । तथापि धनुषा -४ मा विगत दुई चुनाव देखि जित हासिल गर्दै आएका नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठलाई आफ्नो विरासत जोगाउन यस पटक सजिलो नभएको विश्लेषकहरु बताउँछन् ।दुई पटक हार व्यहोरेका नेपाली काङ्ग्रेसका उम्मेदवार महेन्द्र यादव प्रति सहानुभुती र काँग्रेसमा गगन थापाको नेतृत्व पछि पार्टीमा एक किसिमको उर्जा थपिएको छ ।पार्टी भित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्ने प्रयास भएको छ। सबै गुटका नेताहरु अहिले एउटै मञ्चमा देखिन थालिएको छ भने रास्वपाका उम्मेदवार राजकिशोर महतोलाई बालेनको नाममा कति मत पर्छ त्यो हेर्न बाँकी छ।




