विशाल बस्नेत
महोत्तरी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीका प्रायः सबै क्षेत्रमा हेभिवेट नेताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ । विशेषतः क्षेत्र नं. १ मा अघिल्लो निर्वाचनमा एकअर्कासँग प्रतिस्पर्धा गरेका नेकपा (एमाले)का नेता लक्ष्मी महतो कोइरी र पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलबीचको योपटकको भिडन्तले चुनावी माहोल थप रोचक बनेको छ । २०७४ सालदेखि निरन्तर एकअर्कासँग प्रतिस्पर्धा गर्दै आएका यी दुवै नेता २०८२ सम्म आइपुग्दा पनि आफ्नो राजनीतिक विरासत जोगाउने दौडमै छन् । रोकक पक्ष यो छ– २०७४ को निर्वाचनमा पोखरेल विजयी हुँदा कोइरी निकटतम प्रतिद्वन्द्वी बनेका थिए भने २०७९ को निर्वाचनमा कोइरी विजयी हुँदा पोखरेल निकटतम प्रतिद्वन्द्वी बने ।



२०७४ को निर्वाचनमा पोखरेलले २३ हजार ७७६ मत प्राप्त गर्दै ४ हजार २८४ मतको अन्तरले विजय सुनिश्चित गरेका थिए । त्यसैगरी, २०७९ को निर्वाचनमा कोइरीले २३ हजार ४०२ मत ल्याएर १ हजार ३० मतको अन्तरले जित हासिल गरेका थिए । मत संख्या झण्डै उस्तै रहे पनि परिणामले पालैपालो जित–हारको इतिहास कोरेको छ । तेस्रो पटक पनि सोही क्षेत्रबाट विरासत जोगाउने घनचक्करमा दुवै नेता पुनः चुनावी मैदानमा छन् । नयाँ भन्दा पुरानाबाटै परिपक्व एजेन्डाको अपेक्षा गरिएको अवस्थामा अन्ततः कडा प्रतिस्पर्धा यी २ बीच नै हुने राजनीतिसम्बन्धी जानकारहरूको आकलन छ ।
कोइरीले आफ्नो चुनावी एजेन्डाको मुख्य हतियार सिँचाइ र खानेपानीलाई बनाएका छन् पोखरेलले भने सिँचाइ र खानेपानीको दीर्घकालीन समाधानका लागि चुरे संरक्षण गर्दै पानीलाई चुरेमै होल्ड गर्नुपर्ने वैज्ञानिक आधारहरू अघि सारेका छन् । वातावरण र चुरे संरक्षणसँगै पर्यटनका आधार तयार गरी क्षेत्र नं. १ लाई समृद्ध क्षेत्रका रूपमा विकास गर्ने योजना पोखरेलका मुख्य एजेन्डा हुन् ।
कोइरी २०७४ को निर्वाचनमा संघीय समाजवादी फोरमबाट र २०७९ मा मनोनयनको अघिल्लो रात एमाले प्रवेश गरी उम्मेदवार बनेका थिए । आफू अभियुक्त रहेको थाहा हुँदाहुँदै पनि वारिसमार्फत मनोनयन दर्ता गराएका कोइरी पक्राउ पर्ने डरले करिब १ वर्ष फरार रहेका थिए । झण्डै डेढ वर्षको संसदीय यात्रामा स्थानीय तहलाई प्रतिनिधिसभासँग जोड्न नसकेको भन्दै उनी आलोचित हुँदै आएका छन् ।
नयाँ भनिएका अधिकांश अनुहारहरू विगतमा बदनामी बेहोरेका पात्रहरू नै रहेको स्थानीयको बुझाइ पाइएको छ । नेपाली कांग्रेसले नयाँ अनुहारका रूपमा अघि सारेका मुकेश काफ्ले माथि ‘अँध्यारोको योजनाकार’ भएको आरोप लाग्दै आएको छ । सोलार कम्पनी, इलेक्ट्रोनिक तथा ठूला कम्पनीहरूसँग मिलेर देशलाई लोडसेडिङमा धकेलेको आरोप उनीमाथि अझै कायमै छ ।
नेपाल विद्युत प्राधिकरणको निर्देशक हुँदा १८ घण्टासम्म लोडसेडिङ भएको विषयमा उनले हालसम्म आफूलाई क्लिन चिट दिन सकेका छैनन् । यही विषयलाई विपक्षीहरूले क्षेत्र नं. १ मा उनलाई कमजोर बनाउने मुख्य हतियार बनाएका छन् । २०६२ सालदेखि बोर्ड सदस्य रहँदै आएका काफ्लेले ऊर्जा क्षेत्र धरासायी बनाएको र गृह क्षेत्रलाई उपेक्षा गरेको गम्भीर आरोप पनि खेप्दै आएका छन् । यद्यपि, उनी आफूलाई ऊर्जा विज्ञका रूपमा प्रस्तुत गर्दै भोट फकाउने प्रयासमा छन् ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रमोद महतो क्रसर व्यवसायी हुन् । मनोनयनको दिन दर्जनौं भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरेर मान्छे ल्याएको विषयलाई लिएर पार्टीभित्रै विवाद चर्किएको छ । एक समूहले त उनीविरुद्ध बागी उम्मेदवारी नै दिएको थियो । टेकप्रसाद पोखरेल नामका एक युवाले महतोविरुद्ध बागी उम्मेदवारी दिएका थिए । क्रसर व्यवसायको आडमा अवैध खोला दोहन, हुलहुज्जत मच्चाउने तथा उत्खननको बलमा युवाहरूलाई एकत्रित गरी सामाजिक आतंक सिर्जना गर्ने गरेको आरोप महतोमाथि लाग्दै आएको छ ।
नैतिकताको कसीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार पोखरेलका निर्वाचन एजेन्डा कति नवीन र प्रभावकारी हुन्छन् भन्ने आम चासोको विषय बनेको छ । कतिपयले पुरानै एजेन्डा दोहोर्याएर भोट फकाउन खोजिएको भन्दै आलोचना गरेका छन् । लगातार चार पटकसम्म निर्वाचित भएपछि सत्ताको दम्भ बढेको आरोपमा अघिल्लो निर्वाचनमा पोखरेल सर्वपक्षीय निशानामा परेका थिए । तर यसपटक भने उनीप्रति सहानुभूति देखिएको छ । नेकपा उम्मेदवार गिरिराजमणि पोखरेलले चुरे संरक्षणका मुद्दालाई प्राथमिकताका साथ उठाएका छन् । चुरे संरक्षणसँगै दिनानुदिन बढिरहेको पानी संकट न्यूनीकरणका लागि दीर्घकालीन योजनाहरू अघि सारेका छन् ।




