जनकपुरधाम । मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले पहिलो पटक प्रदेश सभाको बैठक मैथिली भाषाबाट सञ्चालन गर्दै नयाँ अभ्यासको शुरुवात गरेका छन् ।
प्रदेश सभा स्थापना भएको करिब आठ वर्षपछि सभामुख यादवले मातृभाषामा सभाको कार्यसूची अघि बढाउँदै सभाको उद्देश्य र भूमिकाबारे धारणा राखेका हुन् ।
बैठकको प्रारम्भिक चरणमा मैथिली भाषा प्रयोग गरिए पनि दोस्रो चरणदेखि भने बैठक नेपाली भाषामा सञ्चालन गरिएको थियो। सभामुख यादवले मधेश प्रदेशको कामकाजी भाषा अहिलेसम्म औपचारिक रूपमा तोकिएको नभएकाले दुवै भाषालाई समेट्ने प्रयास गरिएको बताए ।
प्रदेश सभाको पहिलो बैठकमै भाषाको विषयलाई लिएर विवाद उत्पन्न नहोस् भन्ने उद्देश्यले यस्तो अभ्यास अपनाइएको सभामुख यादवको भनाइ छ । उनले मातृभाषाको सम्मान र सबै सदस्यलाई सहज हुने वातावरण निर्माण गर्नका लागि मैथिली र नेपाली दुवै भाषाको प्रयोग गरिएको बताए ।




