काठमाडौं - फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय छन् । मतदातालाई आफूतर्फ आकर्षित गर्न उम्मेदवारहरू विभिन्न नारा र वाचा बोकेर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
निर्वाचन आचारसंहिताअनुसार फागुन ४ गतेभन्दा पहिला चुनावीसभाहरू गर्न नपाइने भएकाले अहिले उम्मेदवारहरू मतदाता भेटघाट तथा रणनीतिक छलफलमा व्यस्त छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) बाट १६५ जना निर्वाचित हुनेछन् । त्यसका लागि ३ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । संविधानले नै संघीय संसद्मा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य गरे पनि दलहरूले महिला उम्मेदवार उठाउन कन्जुस्याइँ गरेका छन् । त्यसैले उनीहरू समानुपातिकतर्फबाट महिलाको कोटा पूरा गर्नुपर्ने अवस्था छ ।
विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउँदा मात्र ११ जना महिला उम्मेदवार बनाएको छ । ती ११ जनामध्ये तीन जना महिला अन्य तीन पार्टीका प्रमुखविरुद्ध चुनावी मैदानमा छन् ।
दुई प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवारविरुद्ध मंधरा चिमरिया
अहिलेको चुनावमा सबैभन्दा चर्चित निर्वाचन क्षेत्रमध्ये एक हो, झापा–५ । यो निर्वाचन क्षेत्रमा दुई जना प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार छन् । विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही क्षेत्रमा उम्मेदवार छन् । अर्का भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि यही क्षेत्रको चुनावी मैदानमा छन् । यी दुई उम्मेदवारका कारण यो क्षेत्र देशव्यापी चर्चामा छ ।
तर, यी दुईसँगै एक महिला उम्मेदवार पनि यही क्षेत्रमा छिन् । कांग्रेसले मंधरा चिमरियालाई यो क्षेत्रमा उम्मेदवार बनाएको छ । ओली र बालेनका कारण यहाँ अन्य उम्मेदवार चर्चामा त्यति नदेखिए पनि एक पार्टी प्रमुखलाई चुनौती दिने प्रमुख उम्मेदवारमध्ये चिमरिया पनि छिन् । यो क्षेत्रमा दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार छन् ।
२०१९ सालमा जन्मिएकी चिमोरियाले ताप्लेजुङको फुङलिङमा प्रारम्भिक शिक्षा लिएकी थिइन् । उनले एसएलसी धरानको तत्कालीन बालिका माविबाट २०३७ सालमा उत्तीर्ण गरेकी हुन् । उनी २०४८ सालदेखि नेपाली कांग्रेसमा सक्रिय छिन् । राजनीतिबाहेक चिमोरिया सामाजिक क्षेत्रमा पनि क्रियाशील छिन् ।
यो क्षेत्रबाट एमाले अध्यक्ष ओलीले एकपटक बाहेक सधैँ चुनाव जित्दै आएका छन् । र उनको प्रतिस्पर्धामा कांग्रेस रहने गरेको छ । २०६४ को संविधानसभा चुनावमा ओलीलाई एकपटक तत्कालीन नेकपा माओवादीका उम्मेदवारले पराजित गरेका थिए ।
२०७९ को चुनावमा यो क्षेत्रबाट ओली ५२,३१९ मतका साथ निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३,७४३ मत पाएका थिए । यो चुनावमा यहाँ कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीलगायतको गठबन्धन थियो भने ओलीलाई राप्रपाले सहयोग गरेको थियो ।
क्षेत्रमा समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै ३५,८७२ मत पाएको थियो भने दोस्रो स्थानमा रहेको रास्वपाले १८,२०५ मत पाएको थियो । यस्तै कांग्रेसले १६८५९ मत पाएको थियो । यस्तै नेकपा माओवादी केन्द्रले ८,६८० र राप्रपाले ७,३७० पाएको थियो ।
रवि लामिछानेविरुद्ध मीना खरेल
पार्टी प्रमुखविरुद्ध मैदानमा उत्रिएकी अर्की कांग्रेस उम्मेदवार हुन्, मीना खरेल । चितवन– २ पनि चर्चित निर्वाचन क्षेत्रमध्ये एक हो । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसकी खरेल, एमालेका अस्मिन घिमिरे र नेपाली कम्युनिस्ट पार्टीबाट प्रताप गुरुङलगायत २३ जना उम्मेदवार छन् । निर्वाचन क्षेत्रबाट यसअघि दुईपटक रास्वपा सभापति लामिछाने निर्वाचित भएका छन् ।
२०७९ को चुनावमा लामिछानेले ४९,३०० मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४,९८८ मत पाएका थिए । यस्तै एमालेका कृष्णभक्त पोखरेलले १४,६५२ मत पाएका थिए ।
यो क्षेत्रमा समानुपातिकतर्फ रास्वपाले ३५,९४५ मत पाएको थियो भने दोस्रो स्थानमा रहेको एमालेले १६,७८४ मत पाएको थियो । यस्तै तेस्रो स्थानमा रहेको कांग्रेसले १२,१३२ मत पाउँदा माओवादी केन्द्रले ८,४०७ मत पाएको थियो ।
खरेल चितवनमा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेकी छन् । महिला तथा बालबालिकाको अधिकार, महिलाको आर्थिक सशक्तीकरण र सामाजिक सेवाका क्षेत्रमा उनले काम गर्दै आएकी छन् । त्यसका लागि स्थानीय समुदायमा लोकप्रिय र विश्वासयोग्य व्यक्तित्वका रूपमा परिचित छिन् ।
प्रचण्डविरुद्ध कुसुम
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सुरक्षित निर्वाचन क्षेत्र खोज्ने क्रममा माओवादी द्वन्द्वकालीन आधार इलाका रुकुम पूर्व पुगेका छन् । २०६४ यताका सबै चुनाव माओवादीले जित्दै आएको यो क्षेत्र प्रचण्डका लागि तुलनात्मक रूपमा सुरक्षित पनि मानिएला । तर, जनार्दन शर्माले छुट्टै पार्टी गठन गर्नु र सो पार्टीबाट माओवादी युद्धका शहीदपुत्र सन्दीप पुन प्रचण्डविरुद्ध मैदानमा उत्रिनुले प्रचण्डको संकट बढाएको छ ।
यहीबीचमा कांग्रेस उम्मेदवार कुसुम थापामगर पनि चर्चामा छिन् । यो क्षेत्रमा ११ जना उम्मेदवार छन् ।
प्रचण्डसँग चुनावी मैदानमा उत्रिएकी कुसुम विघटित प्रतिनिधिसभामा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति थिइन् । उनले कांग्रेस सभापति गगन थापानिकट हुन् । हालै भएको कांग्रेसको विशेष महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेकी छिन् ।
२०७९ को चुनावमा यहाँबाट पाँचदलीय गठबन्धनका माओवादी उम्मेदवार पूर्णबहादुर घर्तीमगर १२,२६२ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेका कैलाशकुमार मल्लले ५,२११ मत पाएका थिए ।यहाँ समानुपातिकतर्फ माओवादी केन्द्रले ८२७१ कांग्रेसले ५६९२ र एमालेले ३६५९ मत पाएकाे थियो ।




