महोत्तरी – महोत्तरीको औरही नगरपालिकामा विद्यालय केन्द्रित नियमित खोप कार्यक्रमअन्तर्गत एचपीभी (HPV) खोप अभियान सुरु गर्ने तयारीस्वरूप पालिकास्तरीय खोप समन्वय समिति तथा सरोकारवालालाई लक्षित गरी एकदिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ।

स्थानीय तहस्तरीय खोप समन्वय समितिको एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको नगरपालिकाका निमित्त नगर प्रमुख तथा नगर उपप्रमुख रेणु झाले जानकारी दिनुभयो। गोष्ठीमा पाठेघरको मुखको क्यान्सर, उक्त रोग निवारणका राष्ट्रिय रणनीति तथा एचपीभी खोप सेवा सञ्चालनसम्बन्धी विषयमा विस्तृत जानकारी गराइएको थियो।




पाठेघरको मुखको क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक भएकाले यसबाट हुने मृत्युदर न्यूनीकरण गर्न एचपीभी खोप प्रभावकारी माध्यम रहेको विज्ञहरूले बताएका छन्। एचपीभी भाइरसका कारण हुने संक्रमणबाट भविष्यमा पाठेघरको मुखको क्यान्सर हुन नदिन किशोरी अवस्थामै खोप लगाउनु अत्यन्तै सुरक्षित र प्रभावकारी हुने जनाइएको छ। एचपीभी खोप पूर्ण रूपमा सुरक्षित, गुणस्तरीय तथा सरकारले निःशुल्क रूपमा उपलब्ध गराएको खोप भएको अभिमुखीकरणमा जानकारी दिइयो।

नगरपालिकाभित्र रहेका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरी तथा विद्यालय नजाने किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने नगरपालिकाका स्वास्थ्य संयोजक रबिन्द्र यादवले बताउनुभयो। उहाँले लक्षित समूहका किशोरीहरूलाई खोप केन्द्रसम्म ल्याउन अभिभावक, शिक्षक तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।

नगरपालिकामा फाल्गुन १ गतेदेखि ७ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। तथ्यांकअनुसार विद्यालयमा अध्ययनरत ३३७ जना किशोरी तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १३० जना गरी पालिकाभर करिब ४६७ किशोरीलाई एचपीभी खोप लगाइने छ।

अभिमुखीकरण कार्यक्रममा खोप अभियानका उद्देश्य, लक्ष्य, अपेक्षित उपलब्धि तथा यसले किशोरीहरूको स्वास्थ्य, प्रजनन स्वास्थ्य र दीर्घकालीन जीवनस्तरमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराइएको थियो। साथै एचपीभी खोपसम्बन्धी जनचेतनामूलक सन्देश, खोपको फाइदा, खोप लगाउनुको उद्देश्य, सम्भावित सामान्य साइड इफेक्ट तथा खोपपछि अपनाउनुपर्ने सावधानीका विषयमा समेत स्पष्ट पारिएको थियो।

निमित्त नगर प्रमुख तथा नगर उपप्रमुख रेणु झाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नम्बर २, ३, ४ र ९ का वडा अध्यक्ष, कार्यपालिका सदस्य सनिचरी देवी मण्डल, नगरपालिकाका कर्मचारी तथा स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो। पालिकास्तरीय खोप समन्वय समितिलाई लक्षित गरी एचपीभी खोप अभियानसम्बन्धी एकदिने अभिमुखीकरण गोष्ठी सञ्चालन गरिएको स्वास्थ्य संयोजक यादवले जानकारी दिनुभयो।












