महेन्द्रनगर (धनुषा )। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ र ९ लाई जोड्ने जलाद खोलामा निर्माणाधीन अवस्थामा रहेको पुल वर्षौँदेखि अलपत्र अवस्थामा रहँदा स्थानीयवासीहरूले विरोध प्रदर्शन गरेका छन् ।

निर्माण कार्य समयमा सम्पन्न नगरी अलपत्र पारिएको विरोधमा स्थानीयहरूले ठेकेदारकव् पुत्ला दहन गर्दै चर्को नाराबाजी गरेका छन् ।
जलाद नदीमा नौ वर्षदेखि अलपत्र रहेको पुल यथाशीघ्र सम्पन्न गर्न माग गर्दै स्थानीयवासीले ठेकेदार किशोरी साह कमलको पुत्ला जलाएर विरोध प्रदर्शन गरेका हुन् ।
स्थानीय बासिन्दा रामकुमार महतोले ठेकेदार पक्षले बेवास्ता गर्दा निर्माण सुरु गरेको नौ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएकाले ठेकेदारको पुत्लादहन गरिएको बताउनुभयो । उहाँले जलाद नदीमा पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य रहेको बताउँदै यथाशीघ्र पुल निर्माण नभए आगामी दिनमा अझ थप आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो ।
महतोले पटक पटक दबाब दिँदा केही दिन काम गरे जस्तो गरेर पुनः बेपत्ता हुने प्रवृत्ति ठेकेदारमा रहेको बताउनुभयो ।

जलाद नदीमा पुल नबन्दा इच्छापुर, दिगम्बरपुर, पर्वता, उमा प्रेमपुरलगायत दर्जनौँ गाउँका बासिन्दा बर्सौंदेखि सास्ती खेपिरहेका छन् । विशेष गरी बर्खायाममा खोला तर्दा ज्यान जोखिममा पार्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।
प्रत्येक वर्ष बाढीका कारण आवतजावत अवरुद्ध हुनुका साथै जनधनको क्षतिसमेत हुने गरेको स्थानीयको भनाइ छ ।
सडक डिभिजन कार्यालय जनकपुरका अनुसार सो पुल निर्माणको जिम्मा पप्पु–कमल जेभी निर्माण कम्पनीले १२ करोड ३५ लाख ६३ हजार २२४ रुपियाँमा लिएको हो । पुलको लम्बाइ १२० मिटर र चौडाइ ११ मिटर रहेको छ ।

२०७४ असार १९ गते ठेक्का सम्झौता भएर २०७६ पुस १९ गतेसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर समयमै काम सम्पन्न नभएपछि २०८० असार मसान्तसम्म म्याद थप गरिएको थियो ।
डिभिजन सडक कार्यालय जनकपुरका सूचना अधिकारी तथा इन्जिनियर अजयकुमार साहले ठेकेदारको लापर्बाहीका कारण निर्माण ढिलाइ भएको स्वीकार गर्नुभयो । उहाँले हाल पुनर्निर्माणको काम भइरहेको बताउँदै हालसम्म करिब ५३ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको जानकारी दिनुभयो ।
पुल निर्माण अधुरो रहँदा त्यस क्षेत्रका बासिन्दाहरू दैनिक आवतजावत, कृषि उपज ओसारपसार, विद्यार्थी तथा बिरामीलाई अस्पताल लैजान गम्भीर समस्या भोग्न बाध्य भएका छन् ।
विरोध कार्यक्रममा सहभागी स्थानीयहरूले “पुल चाहियो, आश्वासन होइन”, “विकासको नाममा राजनीति बन्द गर” जस्ता नाराहरू लगाउँदै शीघ्र निर्माण कार्य सम्पन्न गर्न माग गरेका थिए ।
विरोध प्रदर्शनका क्रममा स्थानीयहरूले छिटोभन्दा छिटो पुल निर्माण कार्य पुनः सुरु गरी सम्पन्न नगरे थप कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।





