जनकपुरधाम । जनकपुरधामस्थित मैथिली विकास कोषको मैथिली भवनमा आयोजित ‘मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सम्पन्न भएको छ ।
पाँच दिनसम्म (माघ २५ देखि २९ गतेसम्म) सञ्चालन भएको प्रदर्शनी समापन तथा प्रमाणपत्र वितरण समारोहका साथ सम्पन्न भएको हो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त आयोजनामा सम्पन्न प्रदर्शनीमा राजर्षि जनक विश्वविद्यालय, मधेस प्रज्ञा प्रतिष्ठान तथा जनकपुरधाम उपमहानगरपालिकाले सहकार्य गरेका थिए ।
समापन समारोह राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमर प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह विशेष अतिथि रहेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख तथा मधेश प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङको अध्यक्षता रहेको थियो ।
त्यसैगरी, कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, राजर्षि जनक विश्वविद्यालयका अध्ययन–अनुसन्धान निर्देशक आर.के. साह, मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडी, साहित्यकार रमेश रञ्जन झा तथा रोशन जनकपुरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन कोषका सदस्य सचिव श्यामसुन्दर शशिले गरेका थिए ।
प्रदर्शनीमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट सहभागी कलाकारहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । समापन समारोहमा सहभागी कलाकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा प्रदेशका कलाकार, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका पदाधिकारी, विद्यार्थी तथा पत्रकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यस्ता प्रदर्शनीहरूले प्रदेशको कला, संस्कृति र मौलिक पहिचानलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।




