एउटा मान्यता छ — राजनीति विचार र एजेन्डाबीचको प्रतिस्पर्धा हो । एजेन्डाले राष्ट्रिय कार्यभार र कार्यदिशाको मार्गदर्शन गर्दछ । अझ निर्वाचनलाई त एजेन्डाबीचको प्रतिस्पर्धा र लोकतान्त्रिक छनोट विधि नै मानिन्छ ।
निर्वाचनमा सबै दल र उम्मेदवारले आ-आफ्नो एजेन्डा अघि सार्दछन् । निर्वाचन घोषणपत्रमार्फत आ-आफ्ना प्रतिबद्धता व्यक्त गर्छन् । मन पर्ने विचार र एजेन्डालाई मत दिन्छन् । जसको विचार र एजेन्डा जनअनुमोदन हुन्छन्, त्यही लागू हुन्छ । निर्वाचनमा गरिएका वाचा ती दल र उम्मेदवारले जिते लागू हुने अपेक्षा मतदाताको हुन्छ ।
अहिले यो बुझाइ र विश्वास खुम्चिदै गएको छ । मानिसले विचार, एजेन्डामा कम र लोकप्रिय अनुहारलाई बढी विश्वास गर्न थालेका छन् । राष्ट्रिय जीवनका अन्य क्षेत्रमा सफलता, ख्याति र चर्चा पाएका व्यक्तित्व राजनीतिक नेतृत्वका लागि उपयुक्त हुन सक्ने सम्भावना बढ्दै गएको छ ।
आगामी फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा धेरैलाई लागेको छ — अब एजेन्डाको समय सकियो, अनुहारको युग आयो । ‘देश कस्तो बन्नुपर्छ’ को ठाउँमा ‘देश कसले चलाउनुपर्छ’ भन्ने प्रश्नमा मानिसको ध्यान केन्द्रित भएको छ । राजनीति र निर्वाचनमा एजेन्डाको महत्त्व कमजोर हुँदै गएको स्पष्ट देखिन्छ ।
वर्तमान राजनीतिको माहौल पनि यस्तै देखिन्छ । चुनावपछि को प्रधानमन्त्री होला ? केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, गगनकुमार थापा कि बालेन्द्र शाह ? बहस यी चार अनुहार वरिपरि छ । हर्क साम्पाङ र कुलमान घिसिङजस्ता प्रधानमन्त्रीका थप दाबेदार मैदानमा छँदै छन् ।
तर, यसो हुनुका कारणमाथि कमैले मात्रै ध्यान दिएका छन् । राजनीतिक प्रवृत्तिहरू ‘सिफ्ट’ हुनुका कारण हुन्छन् । अनुभवजन्य यथार्थले मानिसलाई नयाँ प्रवृत्तिको खोजी गर्न प्रेरित गर्दछ । एजेन्डाभन्दा अनुहारको मूल्य बढ्दै जानुका विभिन्न कारणहरू छन्।
१. संस्थागत विश्सानीयताको अभावः औपचारिक चुनावी घोषणापत्र
अघिल्लो दशकसम्म दलहरूका सिद्धान्त, विचार, सोच, योजना र छविप्रति जनताको रुचि थियो । चुनावी घोषणापत्रमा लेखिएका वाचा पूरा हुन्छन् भन्ने ठानिन्थ्यो । व्यवहारले के सिद्ध गर्यो भने चुनावी घोषणापत्र औपचारिकता मात्रै हो र त्यसमा लेखिएको कुराको कुनै अर्थ हुँदैन ।
दलहरूप्रतिको संस्थागत विश्वास कमजोर भयो । किनकि दलको चरित्र उसको इतिहास, आदर्श, विचार, विरासत र संस्कृतिले होइन, शीर्ष नेताको व्यक्तिगत चरित्रले निर्धारण गर्न थाल्यो । ओली भन्नु नै एमाले, प्रचण्ड भन्नु नै माओवादी, देउवा भन्नु नै नेपाली कांग्रेस हो । ती जे चाहन्छन्, तिनले नेतृत्व गरेका दलमा त्यही कार्यन्वयन हुन्छ भन्ने बुझाइ बढ्दै गयो । राजनीतिक दलहरू जसले जिते पनि सरकारमा गएर गर्ने कम, कार्यशैली र देशको अवस्था उस्तै हुने हो भने एजेन्डामा ध्यान दिन जरुरी छैन भन्ने नागरिकलाई लाग्न थाल्यो ।
एजेन्डा निर्धारण गर्न गहिरो अध्ययन र प्रतिबद्धता जोडिनुपर्छ । बोल्नका लागि बोलिने एजेन्डा, लेख्नका लागि लेखिने घोषणापत्रले जनविश्वास जित्न सक्दैन । अब कसैले लेख्दै वा बोल्दैमा पत्याउन सकिने अवस्था रहेन । एजेन्डासँग निष्ठा, नैतिकता, इमान्दारिता र प्रतिबद्धता जोडिएको छ भने मात्रै त्यसको प्रभावकारिता रहन्छ ।
२. विचारका नाममा बासी अनुहार
विचार र एजेन्डा असफल नेतृत्वपंक्ति र बासी अनुहारले दाबी गर्ने ‘ब्रान्ड’ बनाइयो । पुराना पार्टी र नेता जति सबै विचार भएका, नयाँ दल र युवा जति विचार नभएका भन्ने खोक्रो वर्गीकरण मानिसलाई मन परेन । कथित विचार र एजेन्डा भएका भनिएका दलहरूसँग साँच्चै विचार एजेन्डा थियो भने देशले किन अपेक्षित उन्नति गर्न सकेन भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
एजेन्डा सधैँ असफल र पुरानो नेतृत्वको रक्षा कवच बन्न सक्दैनन् । पात्र र प्रवृत्तिहरू पर्दाफास भइसकेपछि एजेन्डाको गफले मात्रै काम गर्दैन ।
विचारलाई जोगाउने नाममा पुराना नेताहरूको अनुहारसँग दिक्क भइसकेका आम नागरिकलाई उनीहरूको व्यावहारले अब पनि आकर्षण गरिरहनुपर्ने कुनै कारण बाँकी छैन ।
३. असामयिक विचारप्रति खोक्रो भक्ति
समाज विज्ञानमा निरपेक्ष र सर्वकालीक विचार कमै हुन्छन् । विचार र एजेन्डाको पनि समयोचित निर्माण विनिर्माण भइरहनुपर्दछ । समय सन्दर्भ बदलिइसक्यो, शताब्दिऔं पुराना विचार जस्ताको त्यस्तै दोहोर्याएर हुँदैन ।
समाजवाद, साम्यवाद, राष्ट्रवाद, पुँजीवाद, उदारवाद, प्रजातान्त्रिक समाजवादजस्ता विचार शताब्दिऔं पुराना हुन् । यसप्रतिको ओठेभक्ति र निष्ठा नछोड्ने, तर त्यो अहिलेको समयसँग तादम्य नहुने स्थिति बन्यो ।
जस्तो कि समाजवाद यतिखेर सबैको विचार र एजेन्डा छ । सबैजसो दल समाजवाद ल्याउने, समाजवादी क्रान्ति गर्ने भन्छन् । तर, समाजवाद के हो, कसरी आउँछ, के-के भए समाजवाद भएको मानिने, समाजवादले मान्छेको जीवनमा पार्ने सकारात्मक प्रभाव के-के हुन्छन् ? कसैले भन्न सकेको छैन ।
विचार र एजेन्डालाई पनि समयोचित सुधार गरिरहनुपर्दछ । नयाँ भाष्य, प्रारूप र ढाँचा दिइरहनुपर्दछ । ठोस र मूर्त रूपमा ती व्यक्त हुनसक्नुपर्दछ । त्यसो हुन सकेन ।
४. कल्पनाशीलताको उपयोगिता ह्रास
नेता र रदलहरूले कल्पनाशीलतालाई सस्तो, उडन्ते र हावादारी सिद्ध गरे । गत चुनावमै यति धेरै सपना देखाइए कि सपना देखाउने प्रक्रिया नै उपयोगिता ह्रास नियमको सिकार भयो ।
समाजवादको ‘ओभर डोज’ जस्तै रेल, पानी जहाज, स्मार्ट सिटी, रोजगार, गरिबी निवारण, समावेशिता, सामाजिक न्याय, आदि सबै कुराको चर्चा गत चुनावमै यति धेरै भयो कि कुरा गर्न कुनै नयाँ विषय नै बाँकी रहेन । यस्ता अनेक कल्पनाले देशको स्रोत, साधन र व्यवस्थापन क्षमतासँग तादाम्यता राख्दैनथे ।
५. सामूहिक अधैर्यताको युग
डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालले ‘सर्ट-कट’ उपलब्धि खोज्ने युग ल्यायो । मान्छेको सोच, व्यवहार र संस्कृति नै ‘छोटो’ मा विश्वास गर्ने हुँदै गयो । मानिसमा अधैर्यता बढायो ।
हिजो मानिस सयौँ पेजका किताब पढ्थे । अखबारको युगमा आलेख पढ्थे । अब यो धैर्यता थोरै मानिसमा मात्रै बाँकी होला । टिकटक र ट्वीटरको युगमा लामो कुरा गर्नु बेबकुफी र असक्षमता जस्तो लाग्छ । विचार र एजेन्डा अलिक लामो ढाँचामा हुन्छ । त्यसको तर्क प्रणाली र पुष्ट्याइँको आधार हुन्छ । त्यसलाई निश्चित विधि र तरिकाले प्रमाणित गर्नुपर्ने हुन्छ ।
सर्ट-कट युगमा मान्छेलाई यस्ता विषयमा प्रवेश गराउनै गाह्रो छ । डिजिटल युगको छोटो र छिटो खोज्ने प्रवृत्तिबाट मान्छेलाई कसरी धैर्यवान, गम्भीर र चिन्तनमुखी बनाउने ? आज यसको विकल्पको खोजी भइरहेको छ ।
‘करिअर’ प्रदान अधैर्यताको युगमा एजेन्डालाई बेवास्ता गर्न हजार कारण हुन्छन्, तर त्यो हतारोको मूल्य पनि समाज र राष्ट्रले चुकाइरहनु पर्दछ । जस्तो कि भर्खरै त्यस्तो उकुसमुकुस जेन जी विद्रोहका रूपमा देखापर्यो । तर यो नै अन्तिम मूल्य भने होइन।
६. भावनाप्रदान मनोविज्ञान
नेपाली समाज ज्ञान, विज्ञान र विवेकभन्दा बढी भावना प्रधान रहँदै आएको छ । शक्ति संरचना र सम्बन्धले सधैँ यही बाटो अवलम्बन गर्न खोजेको छ । भावना दोहनबाट भोट प्राप्त गर्न जति सजिलो सायद ज्ञान, विज्ञान र विवेकबाट त्यति सम्भव र सजिलो हुँदैन ।
समाजलाई आफू अनुकूल बनाउने सजिलो बाटो हुँदाहुँदै लामो र अप्ठ्यारो बाटो कमैले रोज्छन् । भावना प्रधान समाजको मुक्ति मार्ग ज्ञान र कर्म नभएर भक्ति हो । भक्ति मार्गले आवश्यकता अनुसार विश्वास, अविश्वास र अन्धविश्वास जे पनि ग्रहण गर्दछ ।
समाजमा भावनाप्रदान सोचको जरा जति गहिरो गाडिएको हुन्छ, राजनीतिकर्मी त्यति नै भावनाप्रदान हुन बाध्य हुन्छन् । विद्यमान समस्याले त दल र उम्मेदवार चर्का भाषण, नाटक अभिनय, स्क्रिप्टेड व्यक्तित्व निर्माण, घृणा प्रवर्द्धन, भाइरल छवितिर आकर्षित हुन स्वाभाविक हुन्छन् ।
भावनाप्रदान सामाजिक मनोविज्ञानलाई विवेकसम्मत मार्गमा अग्रसर गराएर विचार र एजेन्डाको महत्त्व स्थापित हुन गाह्रो छ ।
७. प्रियतावादको लहर र ‘हिरोइज्म’ को हुरी
प्रियतावादको लहर र नायकत्ववादको हुरी नेपालको मात्र होइन, समकालीन विश्वकै एक प्रवृत्ति हो । नेपाल मात्र होइन, युरोप अमेरिकालगायत संसारका सबै लोकतन्त्रमा अहिले यो समस्या धेर-थोर छ । यो लोकतान्त्रिक विकास वा क्षयीकरणको एक चरण र एक अध्याय पनि हो । यसको सामना गर्नु बाहेक अर्को उपाय छैन ।
कपितय ऐतिहासिक चरण यस्ता हुन्छन्, जो निश्चित कारणले आउँछन् र निश्चित कारणले आफैँ जान्छन् पनि । युरोपमा पहिलो विश्वयुद्धपछि साम्यवाद, फासीवाद, नाजीवादको लहर जसरी आएको थियो, दोस्रो विश्वयुद्धपछि आफैँ कमजोर हुँदै गयो ।
एजेन्डामाथि अनुहारको दबाब अहिलेको यथार्थ हो । यसलाई सहजतापूर्वक स्वीकार गर्नु र अर्को समयको प्रतीक्षा गर्नु सायद यसलाई सामना गर्ने एउटा उपाय हुन सक्दछ ।-नेपाल भ्युज




