आईसीसी पुरूष टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले हराएको छ ।
श्रीलंकामा आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ६१ रनले हराएको हो ।
भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा अलआउट हुँदै ११४ रनमा समेटियो ।
पाकिस्तानका लागि उस्मान खानले ४४ रन बनाउनुबाहेक अन्य खेलाडी उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
भारतका लागि हार्दिक पाण्डेय, जसप्रित ब्रुमराह, अक्षर पटेल र वरूण चक्रवर्तीले दुई-दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको थियो ।
भारतीय इनिङ्सको मुख्य आधार ओपनर इशान किशन बने। टोलीले सुरुवाती झट्का व्यहोरे पनि किशनले विष्फोटक पारी खेल्दै मात्र ४० बलमा १० चौका र ३ छक्काको मद्दतले ७७ रन जोडे।
ओपनर अभिषेक शर्मा, स्टार अलराउन्डर हार्दिक र अक्षर तीनै जना 'डक' (शून्य रन) मा आउट भए। मध्यक्रममा कप्तान सूर्यकुमार यादवले ३२ रन, शिवम् दुबेले २७ रन र तिलक वर्माले २५ रनको योगदान दिए पनि अन्त्यतिर रनको गति अपेक्षित रूपमा बढ्न सकेन। खेलको अन्तिम क्षणमा रिंकु सिंहले ४ बलमा ११ रन जोड्दै टोलीलाई १७५ को स्कोरमा पुर्याए ।
पाकिस्तानका लागि स्पिनर सइम अयुब सबैभन्दा घातक सावित भए। उनले ४ ओभरको किफायती स्पेलमा मात्र २५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए।
यस्तै, तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, सलमान आगा र उस्मान तारिकले समान १-१ विकेट हात पारे।




