सर्लाही — जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव मनिषकुमार मिश्रको नेतृत्वमा सयौँ नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत बलरा नगरपालिका–९ अचलगढमा शनिबार आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा गगन थापाले मिश्रसहित नवप्रवेशी नेताहरूलाई फूलमाला र टीका लगाई पार्टीमा स्वागत गरे। मिश्रसँगै जसपा नेपालमा एकीकृत भएका लोकतान्त्रिक धारका अधिकांश नेता कांग्रेसमा प्रवेश गरेका हुन्।
कांग्रेस प्रवेश गर्नेहरूमा पार्टीका वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी, नेतृ विना सिन्हा, तत्कालीन लोसपाबाट विष्णु गाउँपालिका अध्यक्षका प्रत्याशी अरविन्द कुमार सिंह, लोसपाका क्षेत्रीय उपाध्यक्ष वीरेन्द्र प्रसाद यादव, क्षेत्र ‘ख’का अध्यक्ष नवल कुमार सिंहलगायत दर्जनौँ नेता रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले मधेशमा आफ्नो राजनीतिक यात्राबारे धारणा राखे।
उनले भने, “पहिला म मधेश आउँदा आगन्तुकजस्तै महसुस हुन्थ्यो—गाउँ, पहिरन र खानासमेत नयाँ लाग्थ्यो। तर अब म यही परिवारको अंग बन्दै गएको छु।” सभापति थापाले मधेशबाटै चुनाव जितेर राष्ट्रिय नेतृत्वमा पुग्ने आवश्यकता महसुस गरेकाले सर्लाहीबाट उम्मेदवार बनेको स्पष्ट पारे।उनले आगामी पाँच वर्ष कांग्रेसले बहुमतका साथ सरकार सञ्चालन गर्ने दाबी गर्दै लामो समय मधेशी राजनीतिमा सक्रिय ठूला नेताहरू कांग्रेसमा प्रवेश गरेसँगै अधिकारको नाममा खुलेका साना दलहरूको प्रभाव समाप्त हुँदै जाने बताए।
कांग्रेस सबै वर्ग र समुदाय—मधेशी, दलित, आदिवासी, जनजाति तथा अल्पसंख्यक मुस्लिम—का आवाज र मुद्दा उठाउने पार्टी भएको उनले उल्लेख गरे।कार्यक्रममा मधेश प्रदेशका वर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय, निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह, निवर्तमान यातायात मन्त्री कौशल सिंहलगायत स्थानीय नेता तथा हजारौँ समर्थकको उपस्थिति थियो।
सभापति थापाले कांग्रेसको मधेशप्रतिको ऐतिहासिक भूमिकासमेत स्मरण गराए। उनले बीपी कोइरालाको उदाहरण दिँदै २०३६ सालको जनमत संग्रहपछि मधेशका नागरिकलाई नागरिकता दिनुपर्ने विषय कांग्रेसले अघि सारेको बताए। “कांग्रेस मधेशको आगन्तुक होइन, मधेशकै अंग हो,” उनले भने।
कुर्ता–पायजामामा थापा
आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा सभापति थापा मधेशी पहिरनमा देखिएका छन्। पाँच दिनदेखि सर्लाही–४ मा रहेर उनले घरदैलो, कार्यकर्ता भेटघाट तथा भेलालगायत कार्यक्रम सञ्चालन गरेका छन्। काठमाडौँबाट कोट–पाइन्टमा मधेश झरेका थापा यहाँ कुर्ता, पायजामा, गमछा र मिथिलाको पहिचान पाग लगाएर प्रचारमा सक्रिय भएका छन्।
उनले घरदैलो क्रममा महिला, युवा र ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्दै स्थानीय समस्या सुनेका छन्। मतदाताको घर–घर तथा पसल–पसल पुगेर समस्याबारे जानकारी लिँदै निर्वाचनपछि प्राथमिकताका आधारमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सर्लाही–४ सहित क्षेत्र नम्बर १, २ र ३ मा समेत कांग्रेसलाई जिताउने उद्देश्यले युवासँग अन्तरक्रिया तथा संगठन विस्तारका कार्यक्रम सम्पन्न गरिएको कांग्रेसले जनाएको छ।




