जीवनराज दाहाल – मधेस प्रदेशको महोत्तरी जिल्लाको बर्दिबासका उल्टो साइकल यात्री जेवि पोखरेलको तेस्रो म्युजिक भिडियो ‘मेरो मनको लाइब्रेरीमा’ सार्वजनिक भएको छ । प्रेमिल भावनामा आधारित उक्त गीतमा प्रेमिकाको सुन्दरता र विशेषतालाई मनमोहक शैलीमा प्रस्तुत गरिएको छ ।
जेवि पोखरेलको स्वर, शब्द तथा सङ्गीत रहेको गीतमा सन्जय हमालको एरेन्ज रहेको छ । भिडियोमा जेवि पोखरेल र सृजना भण्डारीले अभिनय गरेका छन् भने पदम बर्माले छायाङ्कन तथा मिक्सिङ गरेका छन् । PS Production को पोस्ट प्रोडक्सन रहेको उक्त भिडियो कलाघर सिन्धुली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।



भिडियोमा महोत्तरीको बर्दिबास नगरपालिका स्थित श्री जनता माध्यमिक विद्यालय, मुसहर बस्ती, पञ्चधुरा प्रवेश मार्ग तथा सिन्धुलीका विभिन्न आकर्षक दृश्यहरू समावेश गरिएका छन् ।
महाभारतको उचाइमा अवस्थित विश्वको नमुना सिन्धुली कलाघरको प्राङ्गणमा पञ्चेबाजासहित भव्य समारोह आयोजना गरी गीतको विमोचन गरिएको थियो । विमोचन समारोहमा नेपाली सङ्गीत क्षेत्रका महान् व्यक्तित्व स्वर सम्राट नारायण गोपाल र भजन शिरोमणि भक्तराज आचार्यको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान व्यक्त गरिएको थियो ।
वि.सं. २०६३ सालमा मेची–महाकाली उल्टो साइकल यात्रा सम्पन्न गरेका बर्दिबासका जेवि पोखरेलले यसअघि पनि म्युजिक भिडियोमार्फत आफ्ना सिर्जना दर्शकमाझ प्रस्तुत गरिसकेका छन् । ‘मेरो मनको लाइब्रेरीमा’ उनको सार्वजनिक भएको तेस्रो म्युजिक भिडियो हो ।




