नेपाली राजनीतिमा अहिले सबैभन्दा ठुलो समस्या गलत र सही छुट्ट्याउन नसक्नु मात्र होइन, नेता र अभिनेता छुट्ट्याउन नसक्नु पनि हो । चुनावी मैदान हेर्दा लाग्छ, कसैले नीति प्रस्तुत गरिरहेको छ, कसैले संवाद अभिनय गरिरहेको छ, कसैले क्रान्तिको कविता सुनाइरहेको छ, कसैले विकासको ट्रेलर । फागुन २१ सम्म सबैले आफूलाई विजेता ठानेका छन् । तर २२ गते बिहान को विजेता हुन्छ भन्ने कुरा समयले मात्र निर्णय गर्नेछ । यही अनिश्चितता नै यो निर्वाचनको सबैभन्दा ठुलो पहिचान हो ।
यो निर्वाचन साधारण छैन । यो समय अगावै जन्मिन लागेको बच्चा जस्तै हो– नियमित चक्रभन्दा बाहिर, जोखिमपूर्ण तर सम्भावनाले भरिएको । विगतका निर्वाचनहरूमा गठबन्धन, काँध चढ्ने राजनीति, टिकट साटासाट सामान्य थियो । तर यो पटक प्रमुख दलहरू सबै एक्लै मैदानमा उत्रिएका छन् । दशकौँपछि कतिपय निर्वाचन क्षेत्रमा मतदाताले सबै चिन्हका उम्मेदवार देख्न पाएका छन् । यो आफैँमा राजनीतिक इतिहासको महत्त्वपूर्ण मोड हो ।
अझ ठुलो कुरा– यो निर्वाचनपछि संसद्को झण्डै दुई तिहाइ अनुहार फेरिने निश्चित जस्तै छ । पुराना नाम, पुराना शैली, पुराना बोलीहरू बिस्तारै बाहिरिनेछन् । नयाँ पुस्ता, नयाँ भाषा, नयाँ जोखिम लिने पात्रहरू भित्रिनेछन् । यस्तो व्यापक रूपान्तरण नेपालले बिरलै देखेको छ । इतिहासकार फ्रान्सिस फुकुयामाले भनेजस्तै, जब संस्था पुराना हुन्छन् र समाज नयाँ बन्छ, त्यहाँ अवश्य टकराब हुन्छ । नेपाल अहिले त्यही मोडमा छ ।
तर यो परिवर्तनसँगै एउटा खतरा पनि समानान्तर रूपमा बढेको छ– अतिवाद । अहिलेको नेपाली राजनीति दुई अतिवादी ध्रुवतर्फ धकेलिँदैछ । एक ध्रुवको प्रतिनिधित्व केपी शर्मा ओलीले गर्छन् भने अर्को ध्रुवको प्रतीक बालेन शाह बनेका छन् । यी दुवै पात्र मध्यबिन्दुमा उभिन नसक्ने, आफ्नै सत्यलाई पूर्ण सत्य ठान्ने राजनीतिक मनोवृत्तिका प्रतिनिधि हुन् ।
केपी ओली अतिवादका पुराना र अनुभवी खेलाडी हुन् । संस्थागत शक्ति, भाषिक आक्रमण र भावनात्मक राष्ट्रवाद उनको अस्त्र रहँदै आएको छ । बालेन शाह भने यसको ठिक विपरीत ध्रुवमा उभिएका छन्– संस्था विरोधी, कठोर, सम्झौता नगर्ने र ‘म नै सही’ भन्ने आत्मविश्वासले भरिएका । विचार फरक भएपनि प्रवृत्ति उस्तै छ । यो चुनाव मूलतः यी दुई अतिवादबिचको टकराब हो।
मेयर भएपछि देखिएको ओली–बालेन टसल आज राष्ट्रिय चुनावमा आइपुगेको छ । यहाँ प्रश्न के हो भने जनताले कुन अतिवादलाई स्वीकार गर्छन् ? राजनीतिक दार्शनिक कार्ल पपर भन्छन्, ‘अतिवाद तब खतरनाक हुन्छ, जब उसले आत्मसमीक्षा गर्न छाड्छ ।’ अहिले दुवै ध्रुव यही जोखिमतर्फ उन्मुख देखिन्छन् ।
तर इतिहासले के पनि देखाएको छ भने, एउटा अतिवादको अन्त्यका लागि कहिले काहीँ अर्को अतिवाद नै आवश्यक पर्छ । फ्रान्सेली क्रान्ति, भारतीय स्वतन्त्रता आन्दोलन, यहाँसम्म कि नेपालकै ०६२/०६३ को आन्दोलन– सबैमा पुरानो अतिवाद भत्काउन नयाँ अतिवाद प्रयोग भएको थियो । यस अर्थमा बालेनको अतिवाद पूर्ण रूपमा अस्वीकार्य भन्न मिल्दैन । यदि पुरानो राजनीतिक अतिवाद अन्त्य गर्न बालेन आवश्यक पात्र बनेका हुन् भने, त्यसलाई जनताले साथ दिनु स्वाभाविक हो ।
ठिक यही रणनीति नेपाली कांग्रेसभित्र गगन थापाले अपनाएका थिए । पार्टीभित्र जरा गाडेर बसेको अतिवादलाई तोड्न उनले आफूलाई अर्को अतिवादको रूपमा प्रस्तुत गरे । त्यो क्षणमा त्यस्तो अभियान आवश्यक थियो । सधैँ अतिवाद गलत हुँदैन; कहिलेकाहीँ त्यो सङ्क्रमणकालीन औषधि पनि हुन्छ ।
तर समस्या त्यहाँबाट सुरु हुन्छ, जहाँ औषधि नै दीर्घकालीन भोजन बनाइन्छ । देश सधैँ अतिवादबाट चल्दैन । देश चलाउन त सन्तुलन, समझदारी, संवाद र संस्थागत ज्ञान चाहिन्छ । यहीँबाट बालेन र गगनको तुलना सुरु हुन्छ ।
केपी ओली आज आफैँ थाकेको भाषा बोलिरहेका छन् । शेरबहादुर देउवाले पार्टी भित्र गुमाएको जसरी नै सम्मानजनक बहिर्गमनको अवसर गुमाएर जबर्जस्ती बहिर्गमनको बाटो रोजेका छन् । त्यसैले अब ओली अतिवादको चर्चा गर्नु अनावश्यक छ । समयले त्यो अध्याय बन्द गर्न खोज्दैछ। त्यो बन्द गर्न बालेनको भारी मत आवश्यक छ ।
तर ओली अतिवादको अन्त्यसँगै अर्को प्रश्न उभिन्छ– अब देश कसले चलाउने ? यहाँबाट ‘अबकी बार बालेन’ र ‘अबकी बार गगन’ को बहस सुरु हुन्छ । दुवै पात्रले आफूलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिसकेका छन् । बालेन राजनीतिमा नयाँ हुन्, योगदान छैन भन्ने तर्क पुरानो राजनीतिक बहाना मात्र हो । ३४ वर्षको युवाले देश हल्लाउने क्षमता राख्छ भने त्यो कम होइन । पढेका छन्, समर्थन छ, साहस छ । यी सबै कुरा स्वीकार गर्नैपर्छ ।
तर गगन थापा फरक ठाउँमा उभिएका छन् । उनी पुरानो र नयाँ राजनीतिबिचका पुल हुन् । सत्ता कसरी चल्छ र सत्ताले कसरी बिगार्छ, उनले दुवै नजिकबाट देखेका छन् । समकालीन नेपाली राजनीतिमा समयको चाल सबैभन्दा राम्रोसँग बुझ्ने नेता उनी नै हुन् ।
देश चलाउनु भनेको बौद्धिक हुनु वा लोकप्रिय हुनु मात्र होइन । अन्तर्राष्ट्रिय सम्बन्ध, संस्थागत निरन्तरता, आर्थिक संरचना, प्रशासनिक मनोविज्ञान– यी सबै बुझ्न सक्ने नेतृत्व चाहिन्छ । प्रधानमन्त्री पद प्रयोगशाला होइन । यहाँ प्रयोगको मूल्य देशले तिर्छ । यस अर्थमा आजको आवश्यकता स्पष्ट छ, अतिवाद अन्त्यका लागि बालेन, सन्तुलनका लागि गगन । बालेनले भारी मत ल्याएर पुरानो राजनीतिलाई संसद्बाट बिदा गर्नुपर्छ । गगनले देशलाई मिलन र स्थिरताको दिशामा लैजानुपर्छ ।
यो युग बालेनको हो, तर यो क्षण गगनको हो । समयक्रममा बालेन पनि तयार हुनेछन् । तर आज, देशलाई सम्हाल्ने हात गगन थापाकै हुनुपर्छ ।
बालेन कुनै विचारधाराको उत्पादन होइनन्, उनी आक्रोशको उत्पादन हुन् । यो कुरा बुझ्न जरुरी छ । विचारधाराबाट जन्मिएका नेताहरू संस्थागत हुन्छन्, आक्रोशबाट जन्मिएका नेताहरू व्यक्तिगत हुन्छन् । यहीँबाट जोखिम सुरु हुन्छ । तर फेरि पनि, इतिहासले देखाएको छ– आक्रोश बिना पुरानो संरचना भत्किँदैन ।
नेपालको सन्दर्भमा बालेनले प्रतिनिधित्व गरेको अतिवाद पुरानो राजनीतिक संरचनाको विरुद्धको प्रतिरोध हो । यो प्रतिरोध बिना ओली–देउवा–प्रचण्ड शैलीको राजनीति बिदा हुँदैन । त्यसैले बालेनको भारी मत केवल व्यक्तिगत विजय होइन, यो एक राजनीतिक सन्देश हो, अब पुरानो शैली स्वीकार्य छैन ।
नेपाल आज करिश्माबाट तर्कतर्फ सर्नुपर्ने मोडमा छ । यसै कारण बालेनलाई अस्वीकार होइन, सही स्थानमा राख्नुपर्ने हुन्छ । संसद्मा, शक्तिशाली जनमतसहित, पुरानो राजनीति तोड्ने भूमिकामा । प्रधानमन्त्री पद भनेको करिश्माको होइन, संयोजनको पद हो । यहाँ सेना, प्रशासन, कूटनीति, अर्थतन्त्र– सबै सन्तुलनमा राख्नुपर्छ । यही क्षमता गगन थापामा देखिन्छ । उनी सडक र सदन दुवै बुझ्छन् । आन्दोलनको भाषा पनि बुझ्छन्, नीति निर्माणको व्याकरण पनि ।
अहिलेको विश्व व्यवस्थामा सानो देशका लागि सबैभन्दा खतरनाक कुरा भावनामा बग्नु हो । भावनाले चुनाव जित्न सकिन्छ, तर देश चलाउन सकिँदैन । यही कारणले विश्वका धेरै देशहरूमा करिस्म्याटिक नेतापछि टेक्नोक्र्याटिक वा सन्तुलित नेता खोजिन्छ।
नेपालको सन्दर्भमा बालेन र गगनलाई प्रतिस्पर्धी होइन, क्रमिक उत्तराधिकारीका रूपमा हेर्नु नै परिपक्व राजनीति हुनेछ । पहिले पुरानो संरचना भत्काउने, त्यसका लागि बालेन । त्यसपछि नयाँ स्थिर संरचना बनाउने, त्यसका लागि गगन ।




