महोत्तरी — महोत्तरी जिल्लामा क्रियाशील नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केही युवा नेताहरूले पार्टी परित्याग गरेका छन्। पार्टीभित्र बढ्दो स्वेच्छाचारिता, व्यक्तिवादी कार्यशैली र संगठनात्मक मूल्य–मान्यताको क्षयप्रति असन्तुष्टि जनाउँदै उनीहरूले आफ्नो जिम्मेवारीबाट अलग भएको जनाएका हुन्।
पार्टी छोड्ने नेताहरूले जारी गरेको संयुक्त धारणा अनुसार राजनीतिमा पद र शक्ति भन्दा देश र जनताको हित, सुशासन तथा नैतिकतालाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिइएको छ। संगठन निर्माण, जनजीविका र राष्ट्रियताको पक्षमा इमानदार योगदान दिने नेता–कार्यकर्ताहरू निरुत्साहित हुँदै गएको अवस्थाप्रति पनि उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

पार्टी परित्याग गर्ने नेताहरूमा सत्यनारायण यादव, सरोज कुमार यादव, ई. मनोज कुमार सिंह, रामचन्द्र महतो र जितेन्द्र चौधरी रहेका छन्। सत्यनारायण यादव औरही नगरपालिका–८ निवासी नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय सचिव हुन्। उनी भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, मधेश प्रदेश कमिटीका अध्यक्षसमेत रहेका छन्।

सरोज कुमार यादव मधेश प्रदेश कमिटी सदस्य तथा नेपाल उद्योग तथा व्यवसायी महासंघ का केन्द्रीय सचिव हुन्। उनी अनेरास्ववियु का पूर्व केन्द्रीय सचिवसमेत रहेका छन्।

त्यसैगरी ई. मनोज कुमार सिंह प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन अफ नेपाल (PEAN) का मधेश प्रदेश इन्चार्ज हुन्। रामचन्द्र महतो औरही नगर कमिटीका पूर्व अध्यक्ष हुन् भने जितेन्द्र चौधरी लोहरपट्टी नगरपालिकाका पूर्व निर्वाचित वडाध्यक्ष तथा नगर अध्यक्ष रहेका छन्।

पार्टी परित्याग गरेका नेताहरूले पार्टीमा रहँदा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आफ्नो निर्णय राष्ट्र र जनताको दीर्घकालीन हितका लागि आवश्यक रहेको बताएका छन्।




