सर्लाहीको मलंगवा नगरपालिका–१० मा आइतबार साँझ एक सब–इन्जिनियरको गोली हानी हत्या गरिएको छ।
पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका सब–इन्जिनियर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
उनको छातीमा गोली लागेको थियो। गम्भीर घाइते भएका प्रमोदलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।
अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक राईले बताए।
मृतक प्रमोद मलंगवा–१० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका थिए।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।




