जनकपुरधाम । मैथिली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित जनकपुरधाममा मंगलबारदेखि चारदिने ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२’ सुरु भएको छ ।
मैथिली विकास कोषको आयोजना तथा मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र राजर्षि जनक विश्वविद्यालय लगायतका निकायको सह–आयोजनामा महोत्सवको शुभारम्भ गरिएको हो ।
महोत्सवको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मैथिली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र संवर्द्धनका लागि यस्ता महोत्सव अत्यन्तै महत्वपूर्ण रहेको बताए ।
उनले मधेश प्रदेशमा सबैभन्दा बढी बोलिने मैथिली भाषालाई कामकाजी भाषाका रूपमा स्थापित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा भाषा–साहित्य क्षेत्रमा थप लगानी गरिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले मैथिली कला, साहित्य र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न यस्ता अन्तर्राष्ट्रिय नाट्य महोत्सवले टेवा पुग्ने धारणा राखिन् ।
त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले स्थानीय तहले मैथिली भाषा र संस्कृतिको जगेर्नाका लागि निरन्तर कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पट्टेल, पूर्वमन्त्री रामसरोज यादव, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल लगायतले मैथिली भाषाको ऐतिहासिक पृष्ठभूमि, समृद्ध साहित्यिक परम्परा र वर्तमान चुनौतीबारे धारणा राखेका थिए ।
महोत्सवको मुख्य आकर्षणका रूपमा मंगलबार बिहान जनकपुरधामस्थित रंगभूमि मैदानबाट सांस्कृतिक झाँकीसहित भव्य शोभायात्रा निकालिएको थियो ।
मिथिला संस्कृतिको झल्को दिने परम्परागत पोशाक, बाजागाजा र सांस्कृतिक प्रस्तुतीले नगरवासीलाई आकर्षित गरेको थियो ।
चार दिनसम्म चल्ने महोत्सवमा नेपाल–भारतका विद्वान, साहित्यकार, कलाकार तथा सामाजिक–आर्थिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
यसअघि कोषले २०७३, २०७५, २०७८ र २०८० मा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गरिसकेको छ । यसपटक २० विभिन्न विषयमा विमर्श आयोजना गरिनेछ । त्यसमा साहित्य मात्र नभई राजनीति, समाज, इतिहास र समसामयिक विषयहरू समेटिने जनाइएको छ ।
महोत्सवअन्तर्गत चित्रकला तथा मिथिला पेन्टिङ कार्यशाला, पुस्तक प्रदर्शनी, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, कविता वाचन, लोकनृत्य प्रतियोगिता, कवि गोष्ठी तथा पाँचवटा नाटक मञ्चन गरिनेछ ।
साथै मिथिलाका परम्परागत भोजनको स्टल र सांस्कृतिक कार्यक्रमले महोत्सवलाई थप जीवन्त बनाउने आयोजकको विश्वास छ ।
महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुनेछ । सबै कार्यक्रमहरू जनकपुरधामस्थित मैथिली विकास कोषको भवन परिसरमा आयोजना गरिनेछन् ।
भाषा, साहित्य र संस्कृतिको संरक्षणसँगै पर्यटन तथा स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा समेत महोत्सवले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
मैथिली पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने लक्ष्यसहित सुरु भएको यो महोत्सवले जनकपुरधामलाई सांस्कृतिक राजधानीका रूपमा थप सशक्त बनाउने विश्वास गरिएको छ ।




