धनुषा। धनुषाको नगराईन नगरपालिकामा गरिएको कुपोषण सर्वेक्षणमा बालबालिकामा कुपोषणको अवस्था चिन्ताजनक देखिएको छ। सर्वेक्षणमा वडा नं. २ मा अन्य वडाको तुलनामा कुपोषित बालबालिकाको सङ्ख्या बढी पाइएको छ।
नगरपालिकाले वैशाख २० देखि ३० गतेसम्म सबै वडामा सञ्चालन गरेको सर्वेक्षणमा लक्षित ५४६ बालबालिकामध्ये ३४३ जनाको तौल तथा पोषण अवस्थासम्बन्धी परीक्षण गरिएको थियो। परीक्षण गरिएका बालबालिकामध्ये १३ जना गम्भीर कुपोषण र ४६ जना मध्यम कुपोषणको अवस्थामा रहेको पाइएको हो।



सर्वेक्षणअनुसार परीक्षण गरिएका बालबालिकामा गम्भीर कुपोषणको दर ३.७९ प्रतिशत र मध्यम कुपोषणको दर ९.६२ प्रतिशत रहेको छ। उमेरअनुसार उचाइ तथा तौल कम भएका बालबालिकाको अवस्थासमेत सर्वेक्षणमा समेटिएको जनाइएको छ।
नगरपालिकाका विभिन्न वडामध्ये वडा नं. २ मा कुपोषित बालबालिकाको सङ्ख्या तुलनात्मक रूपमा बढी रहेको सर्वेक्षणको निष्कर्ष छ। बालबालिकामा देखिएको कुपोषणको प्रमुख कारण अभिभावकको लापरवाही तथा सरकारले उपलब्ध गराउँदै आएको पोषण भत्ताको प्रभावकारी सदुपयोग हुन नसक्नु रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ।
नगराईनका स्थानीय प्रदीपकुमार चौधरीले सरकारले बालबालिकाको पोषण सुधारका लागि उपलब्ध गराउँदै आएको पोषण भत्ताको उचित सदुपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले पोषण भत्तालाई बालबालिकाको स्वास्थ्य र पोषणमा खर्च गरी उनीहरूलाई स्वस्थ तथा कुपोषणमुक्त बनाउन अभिभावकलाई आग्रह गर्नुभयो।
बालबालिकामा देखिएको कुपोषण न्यूनीकरणका लागि अभिभावकसँगै स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायको सक्रियता आवश्यक रहेको सर्वेक्षणले औँल्याएको छ। कुपोषित बालबालिकाको समयमै पहिचान, उपचार तथा पोषणसम्बन्धी सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
नगरपालिकाले कुपोषणको अवस्था पहिचान भइसकेका बालबालिकालाई आवश्यक पोषण तथा स्वास्थ्य सेवासँग जोड्दै आगामी दिनमा पोषणसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ।




