सिरहा – कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन उग्र बनेपछि सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्।



कर्फ्यु पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ गोलबजार नगरपालिका–३ स्थित कसहा खोला, पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ गोलबजार–६ को सैनिक चोक तथा दक्षिणतर्फ गोलबजार–४ को क्याम्पस क्षेत्रसम्म लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यता,धनुषाको जनकपुरधाममा पनि कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन चर्किएको छ। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले करिब डेढ दर्जन अश्रुग्यास प्रहार गरेको जनाएको छ।धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले पछिल्लो सुरक्षा अवस्थाको निरन्तर मूल्यांकन भइरहेको र जिल्ला सुरक्षा समितिको बैठकबाट आवश्यक निर्णय गरिने बताएका छन्।





