महोत्तरी – नेपाली कांग्रेसका तर्फबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार महेन्द्र कुमार रायले घरदैलो तथा टोल भेटघाट कार्यक्रममार्फत चुनावी अभियानलाई तीव्र बनाएका छन्।
घरदैलोका क्रममा रायले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै युवाहरूका लागि रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने योजना प्रस्तुत गरेका छन्। साथै उनले महिला अधिकार, शिक्षा पहुँच विस्तार, स्वास्थ्य सेवा सुधार र पूर्वाधार विकासलाई आफ्नो प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन्।
कांग्रेसले विगतमा सुरु गरेका विकास योजनाहरूको प्रगति उल्लेख गर्दै आगामी दिनमा ती योजनालाई थप प्रभावकारी बनाइने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।यसैक्रममा रायले मंगलबार सोनमा गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदातासँग भेटघाट तथा अन्तरक्रिया गरेका छन्।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् औरही नगरपालिकाका पूर्व नगर प्रमुख सुनिल कुमार यादव, सोनमा गाउँपालिकाका पार्टी सभापति, स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
रायले मतदाताको विश्वास र सहकार्य नै आफ्नो विजयको मुख्य आधार हुने दाबी गरे।उनले महोत्तरी–४ अन्तर्गत पर्ने सबै नगरपालिका तथा गाउँपालिकामा पुगेर मतदातासँग भेटघाट गर्ने अभियान निरन्तर रहेको जानकारी दिए। यसै क्रममा सोनमा गाउँपालिका वडा नम्बर ३ खखनामा आयोजित भेटघाट कार्यक्रममा रायले आगामी निर्वाचन र क्षेत्र विकासका विषयमा धारणा राख्दै नेपाली कांग्रेस अहिले युवा पुस्ताको नेतृत्वमा नयाँ ढंगले अघि बढिरहेको बताए। उनले विशेषगरी गगन थापाजस्ता युवा नेताको सक्रियताले पार्टीमा नयाँ ऊर्जा थपिएको उल्लेख गरे। कुनै पनि कार्यकर्तालाई काखापाखा नगरी समान अवसर र सम्मान दिने प्रतिबद्धता पनि उनले जनाए।

देशको वर्तमान अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै रायले देशलाई सबल र स्थिर बनाउन कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताए। विगतमा आफू निर्वाचित हुँदा सम्पन्न भएका विकास योजनाको स्मरण गर्दै उनले सोनमा, श्रीपुर र सिहासनी नजिक पर्ने मडहा खोल्सा र जगहा खोल्सामा पुल निर्माण सम्पन्न भएको जानकारी दिए। साथै औरही नगरपालिका–श्रीपुर र टिम्कियाबीच १५ शैयाको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको तथा अन्य साना–ठूला विकास निर्माणका कामसमेत सम्पन्न भएको दाबी गरे।

यता, स्थानीय केही मतदाताले विगतमा निर्वाचित प्रतिनिधिमाथि मतको दुरुपयोग, जनविश्वासको उल्लंघन तथा सरकारी अस्पतालको सट्टा निजी अस्पताल सञ्चालन गरेको आरोप लगाएका छन्। स्वास्थ्य राज्यमन्त्री बनेपछि जनअपेक्षाअनुसार काम हुन नसकेको भन्दै सार्वजनिक अस्पताल निर्माणतर्फ पर्याप्त ध्यान नदिइएको प्रश्न पनि उनीहरूले उठाएका छन्।
चुनावी गतिविधि तीव्र बन्दै जाँदा महोत्तरी–४ मा विकासका दाबी र आरोप–प्रत्यारोपबीच मतदाता आकर्षित गर्ने प्रयास झनै बढेको देखिन्छ।


