धनुषा । नेपाली कांग्रेसको चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक भएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बुधबार जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।
सभापति थापाको प्रमुख आतिथ्यमा मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पहिलो पटक चुनावी सभा गरेर कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । आगामी निर्वाचनलाई लक्षित गरी ल्याइएको उक्त प्रतिज्ञापत्रमा मधेशको समृद्धि, समावेशिता र आर्थिक विकासका एजेन्डालाई प्राथमिकता दिइएको छ ।
सार्वजनिक गरिएको कांग्रेसको प्रतिज्ञापत्र मा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नाराका साथ बुँदे भिजन समेत सार्वजनिक गरिएको हो ।

भिजनमा पार्टीले आगामी पाँच वर्षभित्र हासिल गर्ने लक्ष्यहरू र ‘बदलियो कांग्रेस, बदलिन्छ देश’ भन्ने उद्घोषका साथ नागरिकको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कांग्रेसले परिकल्पना गरेको नेपालमा नागरिकको आत्मसम्मानलाई पहिलो प्राथमिकतामा राखिएको छ । जात, धर्म, लिङ्ग वा क्षेत्रका आधारमा हुने विभेद अन्त्य गर्दै हरेक नागरिकले शिर ठाडो पारेर बाँच्न पाउने ‘सम्मानित नेपाल’ निर्माण गर्ने पार्टीको योजना छ।
यसका साथै, विधिको शासनलाई कडाइका साथ लागू गर्दै सत्ता र शक्तिको पहुँचका भरमा पाइने विशेषाधिकार अन्त्य गर्ने र बेथिति तथा हैरानीमुक्त प्रशासनिक सेवा प्रवाह गर्ने संकल्प प्रस्तावमा गरिएको छ।
भ्रष्टाचार नियन्त्रण र सरकारी सेवामा ढिलासुस्ती अन्त्य गरी नागरिकले घरमै बसेर सेवा पाउने प्रबन्ध मिलाउने सभापति गगन थापाले दाबी गर्नुभयो । आर्थिक समृद्धिका सन्दर्भमा कांग्रेसले निजी क्षेत्रको प्रवर्द्धन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ।
स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवाहरूले नेपालमै भविष्य देख्न सक्ने वातावरण बनाउने र विदेश पलायन रोक्ने रणनीति दस्तावेजमा समेटिएको छ।
कृषिलाई मर्यादित पेसाको रूपमा विकास गर्दै ‘पेटभरी खुवाउने र देशलाई चिनाउने’ किसानको नेपाल बनाउन प्रविधि र बजारको उचित व्यवस्थापन गरिने उल्लेख छ। साथै, पर्यटन, ऊर्जा र पूर्वाधारको विकासमार्फत समुन्नतिको बाटोमा लम्कने नेपालको चित्र प्रस्तुत गरिएको छ।
आधारभूत सेवा सुविधातर्फ शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउने प्रतिबद्धता जनाइएको छ। ‘ओखती र ओत दिने नेपाल’ को परिकल्पना गर्दै उपचारकै कारण कोही पनि गरिब हुनु नपर्ने र गुणस्तरीय स्वास्थ्य बीमा प्रणाली लागू गर्ने जनाइएको छ।
त्यस्तै, छोराछोरी पढाउन अभिभावकमाथि आर्थिक भार नपर्ने गरी गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्ने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ।
नेपालको मौलिक विविधता, भाषा, संस्कृति र सम्पदामा गर्व गर्दै आधुनिकतालाई समेत आत्मसाथ गर्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वाभिमान उच्च राख्ने विदेश नीति अवलम्बन गरिने कुरालाई भिजनमा समेटिएको छ।




यस्तो छ प्रतिज्ञापत्रका १० बुँदा
- सम्मानित भएर बाँच्न पाउने नेपाल
- सपना देख्न सक्ने नेपाल
- सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल
- पेटभरि खुवाउने र देशलाई चिनाउने किसानको नेपाल
- ओखती र ओत दिने नेपाल
- छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
- बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
- मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल
- विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
- समुन्नतिमा लम्किने नेपाल
पार्टी सभापति थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल र मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादव सहितका नेताको उपस्थितिमा जनकपुरधाम सभामा उक्त प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।




