महोत्तरीको बर्दिवास–१४ मा रहेको महिला जागरण कृषक समूहकी अध्यक्ष सुनिता कुमारी महतो अहिले चुनावी माहोलभन्दा धेरै टाढा देखिन्छिन्। गाउँभरि निर्वाचन प्रचारप्रसारको चहलपहल बढिरहेको छ, तर उनको दिनचर्या भने गोठ, घाँस र बाख्राको स्याहारमै सीमित छ। २४ जना विपन्न, दलित तथा पिछडिएका महिलालाई समेटेर सुरु गरिएको सामूहिक बाख्रापालनले उनको जीवनको प्राथमिकता नै फेरिदिएको छ।
अधिकांश उम्मेदवारलाई उनले चिनेकी पनि छैनन्। सामाजिक सञ्जालमा आउने चुनावी प्रतिबद्धता देखेकी भए पनि कार्यान्वयनप्रति उनी आश्वस्त छैनन्। ‘नेताहरूका वाचा धेरै सुनिन्छन्, तर हाम्रो जीवनमा परिवर्तन ल्याउने कुरा भने कामले मात्र देखाउँछ,’ उनी भन्छिन्, ‘हामीलाई अहिले गोठ र खेतले दिने परिणाम नै बढी भरोसायोग्य लाग्छ।’

समूहका सदस्य महिलाहरू बिहानैदेखि बाख्राको स्याहार, घाँस संकलन र गोठ व्यवस्थापनमा व्यस्त हुन्छन्। उनीहरूका लागि चुनावी प्रचारप्रसारभन्दा उत्पादन र व्यवस्थापन नै महत्वपूर्ण बनेको छ। गृहणी महिलाहरू घरभित्र मात्र सीमित हुन्छन् भन्ने धारणा तोड्दै उनीहरू सामूहिक श्रममार्फत आर्थिक आत्मनिर्भरतातर्फ अघि बढिरहेका छन्।
अहिले समूहले १४४ वटा बाख्रा र ६ वटा बोका पालन गरेको छ। बोयर जातका बाख्राबाट प्रारम्भिक चरणमा उल्लेखनीय आम्दानी नदेखिए पनि महिलाहरू दीर्घकालीन लाभप्रति आशावादी छन्। एक वर्षअघि सुरु भएको यो प्रयासले सदस्यहरूको आत्मविश्वास बढाएको मात्र छैन, सामाजिक दृष्टिकोणमा पनि परिवर्तन ल्याएको छ।
समूहकी सचिव सुशिला महरा घरभित्र मात्र सीमित हुँदा समाजको दृष्टिकोण फरक हुने अनुभव रहेको बताउछिन । ‘बाहिर काम गर्न थालेपछि मानिसहरूको व्यवहार नै बदलियो,’ उनी भन्छिन्, ‘आर्थिक रूपमा सक्रिय हुँदा सम्मान पनि बढ्दो रहेछ भन्ने बुझ्यौँ।’
करीब ९० लाख रुपैयाँ बराबरको पशुधन व्यवस्थापन गरिरहेको यस समूहलाई ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाबाट ५० प्रतिशत अनुदान प्राप्त भएको छ। मापदण्डअनुसारको बाख्रा गोठ निर्माण, दाना भण्डारण कक्ष र व्यवस्थापन प्रणालीले समूहलाई नमुना कृषि उद्यमका रूपमा स्थापित गरेको छ। अहिले उनीहरूको फर्म स्थानीय महिलाहरूका लागि अध्ययन र प्रेरणाको केन्द्र बन्दै गएको छ।
सुरुआती चरण सहज भने थिएन। एक वर्षको अवधिमा चार वटा बाख्रा मरे, जसले समूहलाई आर्थिक र भावनात्मक रूपमा चुनौती दियो। तर महिलाहरूले हार मानेनन्। ‘नोक्सानीलाई अनुभवको रूपमा लिएर व्यवस्थापन सुधारतर्फ लाग्यौँ,’ अध्यक्ष महतो भन्छिन्, ‘अब हामी अझ व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढिरहेका छौँ।’
यो पहलले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै महिलाको सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको छ । सामूहिक श्रम, सहकार्य र आत्मविश्वासले सम्भावनाको ढोका खोल्न सक्छ भन्ने ज्वलन्त उदाहरण महिला जागरण कृषक समूह बनेको छ। चुनावी नाराभन्दा पनि श्रम र उत्पादनले जीवन बदल्न सक्छ भन्ने सन्देश दिँदै महिलाहरू बर्दिवासमा प्रेरणाको स्रोत बनिरहेका छन् ।

महिलाहरुलाई काम गर्न प्रोत्साहन भने ग्रामिण उधम तथा आर्थिक विकास आयोजना बर्दिवास नै बनेको छ । ५० प्रतिशत स्टार्टअप अनुदान मात्र हैन प्रावधिक सहयोग समेत कार्यालयले नै गर्ने भएको हुनाले व्यावसायिक योजना बनाउन थप सहज बनेको महिलाहरु बताउछन् । ५० प्रतिशत कार्यालयको अनुदान र कृषकको ५० प्रतिशत गरि योजनालाई परिणाममुखी वनाउन न्युनतम १५ जनाको कृषक समूह, कृषि सहकारी, उत्पादक संघहरु अनिवार्य सर्त वनाईएको छ । जसले किसानहरुको काममा स्वामित्व र जिम्मेवारी थप फराकिलो बनाएको कार्यालय प्रमुख राजेश साहले बताए ।
२०७७ साल पौष ६ गते सम्झौता सम्पन्न भई विश्व वैंकको आर्थिक सहयोगमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयद्वारा कार्यान्यनमा आएको यो परियोजनाले मधेश प्रदेशका हुलाकी राजमार्ग र पुर्व-पश्मि राजमार्गले छोएका ८५ वटा पालिकामा काम गरेको छ ।
साना कृषि उत्पादकहरुमा बजार पंहुच सृदृढ गर्नका लागि कृषि मूल्य शृंखला अन्तर्गतका साना उत्पादक समुह, सहकारी, संघ तथा मध्यस्कर्ता उधमीहरुविच उत्पादनमुलक साझेदारी तथा बजार सम्बन्धको विकासका लागि मुख्य काम गर्ने गर्दछ ।
यही समुहले अवको ६ महिनापछि मासिक १० हजारसम्म आम्दानी गर्ने संस्थाले जनाएको छ ।


