बर्दिबास । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा खुला सीमाका कारण संवेदनशील मानिएको महोत्तरीमा मतदानस्थल अनुगमन र सुरक्षा परिचालन तीव्र पारिएको छ ।
नेपाल–भारतबीचको खुला सीमाका कारण निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण बन्दै आए पनि जिल्ला सुरक्षा समितिले यसपटक बहु–तह सुरक्षा रणनीति अवलम्बन गरी उच्च सतर्कता अपनाइएको जनाएको छ ।



भारतको बिहार राज्यअन्तर्गत सीतामढी र मधुबनी जिल्लासँग करिब ३९ किलोमिटर खुला सीमा जोडिएको महोत्तरीमा सीमा पारिबाट हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणलाई मुख्य चुनौतीका रूपमा लिइएको छ । खुला आवागमन, आपराधिक गतिविधि र निर्वाचन आचारसंहिता उल्लंघनको सम्भावनालाई दृष्टिगत गर्दै सीमा नाकामा निगरानी बढाइएको छ ।
जिल्लामा कायम २५८ मतदानस्थलमध्ये ६३ प्रतिशत अर्थात् १६३ स्थललाई अतिसंवेदनशील, ३४ प्रतिशत अर्थात् ८९ स्थललाई संवेदनशील र २ प्रतिशत अर्थात् ६ स्थललाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । सोही आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको संयोजनमा सुरक्षा घेरा तयार पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
मतदानस्थलको जोखिम मूल्यांकन गर्दा विगतका निर्वाचन अनुभव, भौगोलिक दुर्गमता, राजनीतिक प्रतिस्पर्धाको अवस्था, सीमा नजिकको अवस्थिति तथा सामाजिक सांस्कृतिक संवेदनशीलतालाई आधार बनाइएको बताइएको छ । अतिसंवेदनशील स्थलमा अतिरिक्त सुरक्षा फौज, नियमित गस्ती तथा विशेष निगरानीको व्यवस्था गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार महोत्तरीका १५ वटै स्थानीय तहअन्तर्गत रहेका मतदानस्थलको भौतिक संरचना, पहुँचमार्ग, सुरक्षा संवेदनशीलता, विद्युत् आपूर्ति, खानेपानी र शौचालयलगायत आधारभूत सुविधाबारे विस्तृत अनुगमन गरिएको छ ।
‘२५८ वटै मतदानस्थल तयारी अवस्थामा छन् । सबै ठाउँमा सुरक्षा निगरानी बढाइएको छ,’ प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘सडक मार्ग सुरक्षित पाइएकाले फागुनको तेस्रो सातादेखि मतपेटिका र मतदान सामग्री ढुवानी गर्ने तालिका मिलाइएको छ ।’
उनका अनुसार दुर्गम र सीमावर्ती क्षेत्रका मतदानस्थलमा समयमै सामग्री पुर्याउने गरी वैकल्पिक मार्गको समेत पहिचान गरिएको छ ।
सीमा सुरक्षालाई प्रभावकारी बनाउन भारतीय प्रशासनसँग समन्वय बैठकलाई निरन्तरता दिइएको छ । पुस २४ गते रौतहटको चन्द्रनिगाहपुरमा सीतामढी जिल्लाका अधिकारीहरूसँग संयुक्त सुरक्षा बैठक सम्पन्न भएको थियो । मधुबनी जिल्लासँग जनकपुरधाममा अर्को चरणको सीमा सुरक्षा बैठक गर्ने तयारी भइरहेको जनाइएको छ ।
सीमापार आपराधिक गतिविधि, अवैध चलखेल तथा निर्वाचन प्रभावित गर्न सक्ने गतिविधि रोक्न दुवै देशका सुरक्षा निकायबीच सूचनाको आदान प्रदान सुदृढ पारिएको छ ।
प्रमुख जिल्ला अधिकारी यादवसहित मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी उपरीक्षकद्वय शेरबहादुर अधिकारी र हेरम्ब शर्मा, जिल्ला निर्वाचन अधिकारी रञ्जिता झा तथा इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विकास बमलगायतको संयुक्त टोलीले दक्षिणी सीमावर्ती क्षेत्रदेखि खयरमाराको विकट डाँडाछोड्केसम्मका मतदानस्थलको स्थलगत अनुगमन गरेको छ ।
अनुगमनका क्रममा सुरक्षा प्रबन्ध, मतदान कक्षको व्यवस्थापन, प्रवेश निष्क्रमण मार्ग, अपांगमैत्री पहुँच र आपतकालीन व्यवस्थापन योजनाबारे समेत समीक्षा गरिएको जनाइएको छ ।
निर्वाचनको वातावरण शान्त र विश्वसनीय बनाउन जिल्लाका चारै निर्वाचन क्षेत्रमा राजनीतिक दल, उम्मेदवार, जनप्रतिनिधि तथा नागरिक समाजसँग समन्वयात्मक अन्तरक्रिया गोष्ठी आयोजना गरिएको थियो । ती कार्यक्रममार्फत आचारसंहिता पालन, मतदाता सचेतना र शान्तिपूर्ण मतदानका विषयमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
उनका अनुसार संयुक्त सुरक्षा परिचालन, सीमा समन्वय र बहुपक्षीय सहकार्यका माध्यमबाट महोत्तरीमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।
खुला सीमाको संवेदनशीलताबीच पनि प्रभावकारी समन्वय र कडा सुरक्षा व्यवस्थाका कारण यसपटकको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास स्थानीय प्रशासनले व्यक्त गरेको छ ।




