यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मधेशसहित देशव्यापी रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता–कार्यकर्ताहरुले पार्टीबाट राजीनामा दिनेको लर्को नै लागेको देखिन्छ ।
मधेश प्रदेशको बारा जिल्लाबाट रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले आफ्नो असन्तुष्टि पोख्दै राजीनामा दिएपछि अहिले नेताहरूले राजीनामा घोषणा गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको देखिन्छ । शर्माले पार्टीभित्र अपारदर्शीता बढ्दै गएको, बाहिर पारदर्शीताको कुरा गरिए पनि व्यवहार उल्टो देखिएको भन्दै दैनिक रूपमा पार्टी छाड्नेको संख्या बढिरहेको दाबी गरिन् । उनले भनिन्, ‘जान्नेलाई छान्ने’ पार्टीको नारा उल्ट्याएपछि आफूले पनि पार्टी छाडेको हुँ ।’ उनले अघि थप्दै भनिन्, ‘पार्टीले पारदर्शीताको कुरा गथ्र्यो, तर भित्र अपारदर्शीता धेरै देखियो । त्यसैले रास्वपामा लागेका साथीहरू दैनिक रूपमा पार्टी छाड्दै छन् ।’



रास्वपा परित्याग गरेका नेता–कार्यकर्ताहरूले प्रतिनिधि सभा सदस्य निर्वाचनमा विचार गरेर मात्र मतदान गर्न आग्रह गर्न थालेका छन् । उनीहरूले चटकदार अनुहारभन्दा पनि देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न मतदातालाई आग्रह गर्न थालेका छन् । देश अहिले गम्भीर अवस्थामा पुगेको भन्दै उनीहरूले सामाजिक सञ्जालको भ्रमबाट बाहिर निस्केर सोचविचार गर्न अपिल समेत गरेका छन् ।
अध्ययन–विश्लेषण गरेर मात्र मतदान गर्न र स्थायी सरकार निर्माणका लागि विवेकपूर्ण निर्णय लिन आह्वान गरेका छन् । त्यस्तै बागमती प्रदेशका उपसभापति रहेर हालै रास्वपा छाडेका दिनेश हुमागाईले भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देशबोधका आधारमा मतदान गर्न आग्रह गरे ।
चुपचाप नभइ गहन अध्ययन गरेर मात्रै मतदान गर्न उनले सुझाए । देशले निकास पाउने र स्थायी सरकार बन्ने गरी मत दिनुपर्नेमा उनको भनाइ छ । उनले रास्वपा आफ्नो सिद्धान्तबाट विचलित भएको आरोप पनि लगाए । समयमा पार्टीले अधिवेशन गर्न नसकेको, निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया सही नभएको र नेतृत्वमा जवाफदेहिता अभावका कारण आफूले पार्टी छाडेको प्रस्ट्याए । उनले नयाँको नाममा नेपाली जनता र जेन–जी आन्दोलनमाथि नै धोका हुन लागेको आरोप लगाए ।
त्यस्तै रास्वपाबाट अलग भएका प्रणय शमशेर राणाले पार्टी नेतृत्वमाथि संगठनात्मक पारदर्शीता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लगाए । उनले उम्मेदवारी छनोट प्रक्रिया संगठनको आधारमा प्राइमरी निर्वाचनबाट हुने भनिए पनि व्यवहारमा भने लागु नभएको आरोप लगाए । पार्टी सदस्यलाई धोकाधडी’ गरेको दाबी गर्दै उनले आन्तरिक लोकतन्त्रमा विश्वासघात भएको दाबी गरे ।
त्यस्तै रास्वपा बारा जिल्ला संगठन विभाग प्रमुख पवन चौधरी, कलैया उपमहानगरपालिका नगरसभापति सञ्जिव यादव र देवताल गाउँपालिका सभापति कमरुद्धिन मियाँले पनि सामाजिक सञ्जालमार्फत राजीनामा दिएका छन् । उनीहरूले पार्टीले उम्मेदवारी दिन इच्छुक व्यक्तिलाई अनलाइन फाराम भर्न लगाए पनि टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरे । कलैया उपमहानगरपालिका नगरसभापति सञ्जिव यादवले अनलाइन फाराम भर्ने क्रममा उम्मेदवारहरूसंग प्रत्यक्षतर्फ २५ हजार रुपैयाँ र समानुपातिकतर्फ ५० हजार रुपैयाँ संकलन गरिएको बताउँदै उक्त रकम फिर्ता गर्न माग गरेका छन् ।
बारामा ५० जनाभन्दा बढीले अनलाइनमार्फत प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारी दर्ता गराएका थिए । स्थानीय नेताहरू पार्टी सदस्यता लिएर अनलाइनमार्फत उम्मेदवारी दिएका व्यक्तिहरूलाई समावेश नगरिएको बताउँछन् । समानुपातिकतर्फ पनि रकम बुझाएर फाराम भरेका व्यक्तिहरूलाई बाराबाट समावेश नगरिएको यादवले आरोप लगाए ।
देवताल गाउँपालिका सभापति कमरुद्धिन मियाँले पार्टीले निर्वाचनका लागि अपनाएको नीति र कार्यशैलीप्रति असहमति जनाए । जिल्ला संगठन विभाग प्रमुख पवन चौधरीले पनि पार्टीभित्रको प्रक्रिया प्रति असहमति जनाए । चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट उम्मेदवार बनेका थिए । उनले ३ हजार ८८४ मत प्राप्त गरेका थिए ।
यसपटक पनि उनी उम्मेदवारका आकांक्षी रहेको जिल्ला सभापति स्वर्णकारले बताए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशका २५ उम्मेदवारमध्ये चौधरीले सर्वाधिक मत प्राप्त गरे पनि उम्मेदवारीबाट भने वञ्चित भए ।जिल्ला सभापति चन्दन स्वर्णकारले जिल्ला संगठन प्रमुख तथा पालिका सभापतिहरूको राजीनामाले निर्वाचनमा असर पर्न सक्ने भन्दै पार्टी केन्द्रीय नेतृत्वलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
यसअघि बारा क्षेत्र नम्बर–३ का उपसभापति रोशन अधिकारी, बारा क्षेत्र नम्बर–४ का उपसभापति दिलीप पण्डित, परवानीपुर गाउँपालिका सभापति मनोज साह र गढीमाई नगरपालिकाका सचिव प्रदीप गुप्ताले पनि असन्तुष्टि जनाउँदै राजीनामा दिइसकेका छन् ।





