महोत्तरी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा महोत्तरी जिल्लाको औरही नगरपालिकाका पूर्व मेयर सुनिल कुमार यादवको पहलमा सर्लाही क्षेत्र नं. २ अन्तर्गत पर्सा गाउँपालिकाका पूर्व अध्यक्ष किसुनदेव यादव तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उप–मेयर प्रत्याशी रहेकी किरण देवी यादवसहित करिब दुई हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
सर्लाहीमा आयोजित विशेष कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गगन कुमार थापाले नवप्रवेशीहरूलाई अबिर र गम्छा लगाई पार्टी प्रवेश गराउँदै स्वागत गर्नुभएको हो।




कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण,समावेशी विकास र सुशासनका पक्षमा नेपाली कांग्रेसले निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले नवप्रवेशीहरूलाई पार्टी संगठन सुदृढीकरणमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।
यस अवसरमा केन्द्रीय सदस्य यादवले मधेस केन्द्रित विकास,रोजगारी सिर्जना र स्थानीय तहको सशक्तीकरणसम्बन्धी नेपाली कांग्रेसको नीतिप्रति जनआकर्षण बढ्दै गएको बताउनुभयो। उहाँले जनताले व्यक्त गरेको विश्वासलाई परिणाममुखी काममार्फत पुष्टि गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पार्टीमा प्रवेश गर्ने नवप्रवेशीहरूले लोकतन्त्र,संघीयता र समृद्धिको एजेन्डालाई संस्थागत गर्दै अघि बढ्न नेपाली कांग्रेससँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




