महोत्तरी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशका विद्यमान चुनौतीहरूको समग्र विश्लेषण गर्दै पार्टीले आफूलाई समयअनुसार रूपान्तरण गरेको दाबी गर्नुभएको छ। बुधबार महोत्तरीको निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत सम्सी बजारमा आयोजित कार्यक्रममा बोल्दै उहाँले कांग्रेसले पुस्तान्तरणको प्रक्रिया अघि बढाएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवापुस्तामा नेतृत्व हस्तान्तरण भइसकेको छ। नेपालमा उत्पन्न हुने हरेक जटिल परिस्थितिमा देशलाई सही दिशा दिन सक्षम शक्ति नेपाली कांग्रेस नै भएको बताउँदै उहाँले जेन–जी पुस्ताको भावना बुझेर उनीहरूसँग सहकार्य गर्दै अघि बढ्ने नीति पार्टीले अवलम्बन गरेको स्पष्ट पार्नुभयो। उपसभापति शर्माले आसन्न निर्वाचन फागुन २१ गते सम्पन्न हुने जानकारी दिँदै महोत्तरी क्षेत्र नं. ४ बाट कांग्रेसका उम्मेदवार महेन्द्र राय यादवलाई मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो।




कार्यक्रमअघि उहाँले सम्सी गाउँपालिका–६ स्थित सम्सी बजारमा रहेको शहीद शिवचन्द्र मिश्रको शालिकमा पुष्पमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा औरही नगरपालिकाका पूर्व नगरप्रमुख सुनिलकुमार यादवले उपसभापति शर्माको भ्रमणले जिल्लामा पार्टी संगठन थप सुदृढ भएको बताउनुभयो। उहाँले महोत्तरी–४ मा कांग्रेसप्रति जनसमर्थन बढ्दो क्रममा रहेको दाबी गर्नुभयो।

त्यस्तै मधेश प्रदेश समिति सदस्य नरेन्द्र यादवले कांग्रेसको नीति र नेतृत्वप्रति जनविश्वास विस्तार हुँदै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न सबैलाई एकताबद्ध भएर लाग्न आह्वान गर्नुभयो। उम्मेदवार महेन्द्र राय यादवले पार्टी नेतृत्व, कार्यकर्ता र मतदाताबाट प्राप्त समर्थनले आफू उत्साहित भएको बताउँदै शहीदहरूको बलिदानलाई आत्मसात गर्दै समावेशी विकास र जनसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न नगरपालिका तथा गाउँपालिकाका सभापति, वडा सभापति, स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
















