जनकपुरधाम- प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाको कमला नगरपालिकामा सार्वजनिक सेवा प्रवाह प्रभावित भएको छ ।
जनप्रतिनिधि र कर्मचारीहरू कार्यालयको नियमित कामकाज छाडेर निर्वाचन गतिविधिमा केन्द्रित भएपछि सेवाग्राहीहरू समस्यामा परेका हुन् ।
नगरपालिकाले कुनै औपचारिक सूचना जारी नगरी कामकाज बन्दजस्तै अवस्थामा पुगेपछि दैनिक प्रशासनिक सेवा लिन आउने स्थानीय निराश हुँदै फर्किन बाध्य भएका छन् ।
विभिन्न वडा र गाउँबाट अत्यावश्यक कागजी प्रक्रिया, सिफारिस तथा अन्य सेवा लिन आउने नागरिकले कार्यालयमा कर्मचारी नपाउँदा सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सञ्चालनका लागि कर्मचारीहरू निर्वाचनमा खटाइएकाले यस्तो अवस्था सिर्जना भएको कमला नगरपालिका–३ का वडाध्यक्ष रामभगत यादवले बताए ।
उनका अनुसार निर्वाचन जिम्मेवारीका कारण कार्यालयको नियमित सेवा प्रभावित भएको हो ।
यस्तै, नगरभित्र जनप्रतिनिधिहरूबीचको विवादका कारण चालु आर्थिक वर्षको नगरसभा बस्न नसकेको र बजेटसमेत पारित हुन सकेको छैन ।
बजेट अभावकै कारण विगत आठ महिनादेखि शिक्षक तथा कर्मचारीको तलब रोकिएको छ भने ज्येष्ठ नागरिकलगायत लक्षित वर्गले पाउने सामाजिक सुरक्षा भत्ता वितरणसमेत ठप्प भएको छ ।
स्थानीयले निर्वाचनको व्यस्तताबीच पनि आधारभूत सेवा निरन्तरता दिन नगरपालिका जिम्मेवार बन्नुपर्ने माग गरेका छन् ।
सेवा प्रवाह अवरुद्ध हुँदा दैनिक प्रशासनिक कामकाजदेखि सामाजिक सुरक्षासम्बन्धी सुविधासमेत प्रभावित भएको भन्दै तत्काल समाधान खोज्न दबाब बढ्न थालेको छ ।





