मधेश प्रदेशका पूर्वसभामुख रामचन्द्र मण्डलका ज्वाई रमेश मण्डल पक्राउ परेका छन् ।
सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरी निजी बनाइएको आरोपमा उनी पक्राउ परेका हुन । सशस्त्र प्रहरीको विशेष चेकजाँचका क्रममा मिथिला बिहारी नगरपालिका–पुरन्दाहा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएको गाडी सरकारी भए पनि त्यसमा निजी नम्बर प्लेट प्रयोग गरिएको थियो। चेकजाँचका क्रममा गाडी अवैध तथा गैरकानुनी रूपमा सञ्चालन गरिएको आशंकामा नियन्त्रणमा लिइएको बताइएको छ।
पक्राउ गरिएको गाडिको नम्बर बागमती–प्र–०१ ००३२ च ७८९४ लेखिएको भएपनि उक्त नम्बर गलत भएको बताइएको छ ।
पूर्व सभामुख मण्डलमाथि यसअघि आचरणविपरीतको कार्यको आरोप लागेपछि मधेश प्रदेश सभाका दुई तिहाइ सदस्यले पदमुक्त गरेका थिए। त्यसपछि उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिँदै धनुषा क्षेत्र नम्बर–१ बाट नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। पक्राउ परेका रमेश मण्डल उनका निजी सचिवसमेत रहेका छन्।




