महोत्तरी – जिल्ला सदरमुकाम रहेको क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उज्ज्वलकुमार झा भारी मतान्तरले निर्वाचित हुनुभएको छ।
अन्तिम मतपरिणामअनुसार झाले ३२ हजार ४५१ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मोहम्मद रिजवानलाई २६ हजार ४८२ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको छ। रिजवानले ५ हजार ९६९ मत मात्र प्राप्त गर्नुभएको छ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार रामआधार कापरले ४ हजार ७९० र नेपाली कांग्रेसका बजरंग नेपालीले ४ हजार ३४२ मत प्राप्त गर्नुभएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेता महन्थ ठाकुर निर्वाचित हुँदै आएको क्षेत्र नं. ३ मा यसपटक जसपाबाट उम्मेदवार बन्नुभएकी ठाकुरकी छोरीले ३ हजार ९४६ मत मात्र प्राप्त गर्नुभएको थियो।
कुल १ लाख १० हजार ४३६ मतदाता रहेको क्षेत्र नं. ३ मा ६४ हजार ४८८ मत खसेको थियो। जसमध्ये ५९ हजार ४७८ मत वैध र ५ हजार १० मत अस्वीकृत भएको जलेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




