महोत्तरी – महोत्तरी जिल्लामा खाना पकाउने एलपीजी ग्यासको अभावले स्थानीय उपभोक्ताहरू असहज अवस्थामा परेका छन्। पश्चिम एसियामा इरान र इजरायलबीचको तनावका कारण भारतबाट ग्यास आयातमा कडाइ भएपछि जिल्लाभरि ग्यासको आपूर्ति घटेको हो।
विशेष गरी महोत्तरी सदरमुकाम जलेश्वर,औरही,गौशाला र बर्दिबास बजारमा ग्यास अभाव देखिएको छ। स्थानीय उपभोक्ताहरूले बजारमा ग्यास लिन गए पनि खाली हात फर्किनु परेको गुनासो गरेका छन्। कतिपय बिक्रेताले ग्यास जम्मा गरेर कालोबजारी गरेको आरोपसमेत स्थानीयले लगाएका छन्। औरही उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्रवण चौधरीले भने, “ग्यासको अभावले उपभोक्ताहरू समस्या भोगिरहेका छन्। कम्पनीहरूले समयमै ग्यास आपूर्ति गर्नुपर्छ र कालोबजारी गर्नेहरूलाई कारबाही गर्नुपर्छ।



बिक्रेताहरूको तर्क छ कि कम्पनीबाट समयमै ग्यास आपूर्ति नहुँदा यस्तो अवस्था सिर्जना भएको हो। एक बिक्रेताले भने,पहिले साप्ताहिक रूपमा सिलिन्डर आउँथ्यो, तर दुई हप्ताभित्र कम्पनीले एक पनि सिलिन्डर आपूर्ति गरेको छैन।जलेश्वर उद्योग वाणिज्य संघले ग्यास अभावको समाधान खोज्ने प्रयास गरिरहेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले कालोबजारी गर्नेहरूलाई कारबाही गर्ने सार्वजनिक सूचना पनि जारी गरिसकेको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए,उपभोक्तालाई ग्यासको अभाव हुन नदिन एक परिवारलाई एक सिलिन्डर वितरण गरिने र मिति सहित लगत राखी समन्वय गरिनेछ। आपूर्तिकर्ता कम्पनीहरूसँग पनि समन्वय भइरहेको छ।” देशैभर आधा सिलिन्डर वितरण गर्ने नीति भए पनि उपभोक्ताहरू खाली हात घर फर्किन बाध्य भएका छन्।
स्थानीय उपभोक्ताहरूले सम्बन्धित निकायलाई समस्या समाधान गर्न ध्यान दिनुपर्ने बताइरहेका छन्।




