धनुषा- धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । गणेशमान चारनाथ नगरपालिका–४ निवासी २५ वर्षीया विभाकुमारी महतो मंगलबार दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृतक विभाले पाँच वर्षअघि मुकेश धनखोटी यादवसँग भागी विवाह गरेकी थिइन् । दुवैबीच लामो समयदेखि सन्तान नभएको विषयलाई लिएर घरायसी विवाद हुने गरेको र सोही कारण विभामाथि शारीरिक तथा मानसिक यातना दिइएको माइती पक्षको आरोप छ ।



मृतकका दाजु मनिषकुमार महतोका अनुसार विभाको शरीरमा नीलडाम देखिएको भन्दै उनको हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । उनले बहिनीको मृत्यु शंकास्पद रहेको भन्दै कानुनी कारबाहीको माग गरेका छन् ।
उक्त घटनाबारे मृतकका पति मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीमा जाहेरी दर्ता गरिएको छ । जाहेरीका आधारमा प्रहरीले मुकेशलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक गणेश बमले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिनुभयो । घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।





