जनकपुरधाम – मधेश प्रदेशमा जनमत नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १५ सिट सहित चौथो ठूलो दल बनेको छ । विगतमा भएको नेकपा माओवादी केन्द्र (७), नेकपा एकीकृत समाजवादी (७) र नागरिक उन्मुक्ति पार्टी (१) मिल्दा मधेश प्रदेशमा नेकपा १५ सिट भएको छ ।
२०७९ को निर्वाचन परिणाम अनुसार माओवादी केन्द्र ९, नेकपा एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्तिका १ सिट थियो । तर, माओवादी केन्द्रका दुई प्रदेश सांसद भरतप्रसाद साह र रहबर अंसार गत फागुन २१ को चुनाव लड्न सांसद पद त्यागेका थिए । दलका नेतासमेत रहेका साह महोत्तरी ४ बाट पराजित मात्र भएन जमानत समेत जफत भयो । अंसार बारा ४ मा रास्वपाबाट फराकिलो मतअन्तरले जित हात पारे ।



माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको एकीकरणपछि मधेशमा नेकपाको संसदीय दलका नेता युवराज भट्टराईलाई तोकिएको छ । उनी यसअघि माओवादी केन्द्रका दलका उपनेता थिए । मधेश प्रदेश सरकारमा नेकपाको अहिले ३ वटा मन्त्रालय छ ।
१०७ सदस्य मधेश प्रदेशसभामा अहिले ५ सिट रिक्त रहेको छ । हाल मधेश प्रदेशसभामा एमालेको २४, काँग्रेसको २२, जसपा नेपालको १९, नेकपा १५, जनमतको १२, लोसपाको ८, नेपाल संघीय समाजवादीको १ सिट छ ।





