महोत्तरी – बेमौसमी वर्षाले जिल्लाका किसानलाई दोहोरो असर पारेको छ। शुक्रबार साँझदेखि शनिबारसम्म परेको वर्षा र हावाहुरीका कारण पाक्न लागेको गहुँ, दलहन र मकैबालीमा व्यापक क्षति पुगेको छ भने केही फलफूल तथा तरकारीबालीमा आंशिक लाभ देखिएको किसानहरूले बताएका छन्।
पाक्न तयार अवस्थामा रहेको गहुँबाली वर्षा र हावाहुरीले ढालिदिँदा खेतमै नष्ट भएको छ। खेतमा पानी जमेर दाना कुहिन थालेपछि उत्पादनको गुणस्तरमा समेत गिरावट आएको किसानहरूको भनाइ छ। अत्यधिक चिस्यानका कारण दलहनबालीमा बोट सड्ने र उत्पादन घट्ने समस्या देखिएको छ भने मकैबाली पनि हावाहुरीले ढालिदिँदा बालीमा क्षति पुगेको छ।



औरही नगरपालिका–२ का किसान दिनेश यादवले पाक्न लागेको गहुँ पूर्ण रूपमा ढलेर नोक्सान भएको, दलहन सड्न थालेको र मकैबाली पनि हावाले ढालिदिएको बताए।
त्यस्तै, गौशाला नगरपालिका–४, रजखोरका किसान लक्ष्मण मण्डलले वर्षा र हावाहुरीका कारण गहुँ तथा मकैबालीमा ठूलो क्षति पुगेको उल्लेख गर्दै खेतमा पानी जम्दा दलहनबालीसमेत बिग्रँदै गएको बताए। यस वर्ष अपेक्षित उत्पादन हुने सम्भावना न्यून रहेको उनको भनाइ छ।
यद्यपि, वर्षाले केही बालीमा सकारात्मक प्रभाव पनि पारेको छ। आँपको मञ्जरमा लागेको मधुवा किरा वर्षाले पखालिदिँदा मञ्जर सुरक्षित भई फल लाग्ने सम्भावना बढेको किसानहरूले बताएका छन्। त्यस्तै, तरकारी तथा उखुबालीमा चिस्यान वृद्धि भएकाले वृद्धि प्रक्रियामा सहयोग पुगेको छ।
कृषि विज्ञहरूका अनुसार बेमौसमी वर्षाले अन्नबालीमा तत्काल क्षति पुर्याए पनि केही बालीमा सीमित लाभ देखिन्छ। उनीहरूले खेतमा पानी जम्न नदिने, रोग तथा कीरा नियन्त्रण गर्ने र समयमै बाली व्यवस्थापनमा ध्यान दिन किसानलाई सुझाव दिएका छन्।




