महोत्तरी – गौशाला बजार विगतदेखि नै महत्वपूर्ण व्यापारिक तथा ऐतिहासिक केन्द्रका रूपमा परिचित रहँदै आएको छ। स्थानीय कृषि उपज, दैनिक उपभोग्य सामग्री तथा सेवा क्षेत्रको विकाससँगै यस बजारले आसपासका गाउँ–सहरलाई आर्थिक रूपमा जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
तर पछिल्लो समय बजार क्षेत्रको अवस्था भने अव्यवस्थित बन्दै गएको स्थानीयवासीले गुनासो गरेका छन्। जथाभावी पसल सञ्चालन, फोहोर व्यवस्थापनमा कमजोरी, सडक अतिक्रमण तथा सरसफाइको अभावजस्ता समस्या बढ्दै जाँदा बजारको सौन्दर्य, जनस्वास्थ्य र वातावरणमा नकारात्मक असर परेको उनीहरूको भनाइ छ।




यही अवस्थालाई मध्यनजर गर्दै गौशाला युवा सञ्जालले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। सञ्जालले बजार क्षेत्रलाई व्यवस्थित बनाउन, नियमित सरसफाइ सुनिश्चित गर्न, फोहोर व्यवस्थापन प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा सार्वजनिक स्थानको संरक्षणका लागि तत्काल पहल गर्न माग गरेको जनाएको छ।
सञ्जालका अनुसार ध्यानाकर्षण पत्र गौशाला नगरपालिका, वडा नं. ५ को कार्यालय, इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, गौशाला बजार व्यवस्थापन समिति तथा उद्योग वाणिज्य संघलाई समेत पठाइएको छ।
यस्तै, स्थानीय व्यापारी, सरोकारवाला निकाय तथा सर्वसाधारणलाई बजार सरसफाइ र व्यवस्थापनमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरिएको छ। सबै पक्षको सहकार्यबाट स्वच्छ, सुरक्षित र व्यवस्थित गौशाला बजार निर्माण गर्न सकिने विश्वास व्यक्त गरिएको छ।
प्रेस बिज्ञप्ति





