महोत्तरी – महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ स्थित गौशाला बजारलाई व्यवस्थित, सफा र अनुशासित बनाउने उद्देश्यका साथ नगरपालिका र गौशाला नगर युवा सञ्जालले व्यापक योजना अघि बढाएका छन्। आगामी शनिबारदेखि बजार सरसफाइ, अतिक्रमण हटाउने, सडकमा राखेर बिक्री गर्ने पसलहरूको व्यवस्थापन र पार्किङ व्यवस्था सुधार गर्ने कार्य शुरू हुने भएको छ।
गौशाला नगर युवा सञ्जालले चैत १४ गते प्रेस विज्ञप्ति जारी गरी सम्बन्धित निकायहरूलाई जानकारी गराएको थियो भने १७ गते एक हप्ताको अल्टिमेटम पत्र बुझाइएको थियो। सोही प्रक्रियाअनुसार आज नगरपालिका कार्यालयले सार्वजनिक सूचना जारी गर्दै बजार व्यवस्थापनको तयारीलाई औपचारिक स्वरूप दिएको छ।बैठकले भुइँमा छानेर कपडा बेच्ने साना पसल तथा फलफूल ठेलाहरूलाई साविकको घैला बजारमा व्यवस्थापन गर्ने निर्णय गरेको छ। त्यस्तै, गाजल, टीका, लहठी र जुत्ता–चप्पल बेच्ने साना पसलहरूलाई जाल्पा मन्दिरदेखि उत्तरतर्फ स्थानान्तरण गर्ने व्यवस्था तय भएको छ।



सार्वजनिक जग्गामा राखिएका कटघेराहरू स्थानीय तहसँग समन्वय गरी मात्र तोकिएको स्थानमा राख्न पाइने व्यवस्था गरिएको छ। सडकमा बढाइएका छाना, बोर्ड र अन्य संरचनाहरू पूर्ण रूपमा हटाइनेछ। पसल अगाडिको नाला वा स्ल्याबमाथि सीमित रूपमा सामान राख्न पाइने भए पनि सडकमा कुनै पनि सामग्री राख्न नपाइने व्यवस्था लागू हुने भएको छ।फोहोर व्यवस्थापनको विषयमा प्रत्येक पसलले अनिवार्य रूपमा डस्टबिन राख्नुपर्ने, फोहोर नगरपालिका ट्र्याक्टरमार्फत उठाइने व्यवस्था गरिएको छ। जथाभावी फोहोर सडकमा फाल्ने वा नियम उल्लंघन गर्नेविरुद्ध नियमानुसार जरिवाना गरिने छ।
गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले अतिक्रमण गरेर राखिएको पसलहरू स्वतः खाली नगरेमा जेसिबी प्रयोग गरेर हटाउने जानकारी दिनुभयो। “आउँदो शनिबारदेखि बजार सफाइ र व्यवस्थापन सुरु हुनेछ। अतिक्रमण गरेर राखिएको पसल खाली नगरेका व्यापारीविरुद्ध कानुनबमोजिम आवश्यक कारबाही गरिनेछ,” उहाँले भन्नुभयो।
त्यसैगरी, गौशाला नगर युवा सञ्जालका अध्यक्ष भरत महतो कोईरीले युवाहरूको सक्रिय सहभागितासहित बजार व्यवस्थित बनाउने अभियान अघि बढाइएको बताए। ठेकदार बिन्देश्वर साह, उद्योग वाणिज्य संघका उपाध्यक्ष देव चन्द्र महतो, वडा अध्यक्ष ओम प्रकाश गुप्ता र स्थानीय व्यापारी अजय कुमार साहले पनि बजार व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नगरपालिकाले निर्णयको कार्यान्वयनमा अटेर गर्ने वा नियम उल्लंघन गर्नेहरू विरुद्ध प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।






