
जनकपुरधाम- बारामा अज्ञात व्यक्तिले हानेको गोली लागेर गम्भिर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।
भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको हो । उनी भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी हुन् ।
कलैया बारियारपुर सडकखण्ड अन्तर्गत बाराको महागढीमाई नगरपालिका–२ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर उनी गम्भिर घाइते भएका थिए ।
नम्बर नखुलेको दुईवटा मोटरसाइकलमा आएका पाँचजनाको समूहका एकजनाले शुक्रबार साँझ साढे ५ बजेतिर गोली हानेर भागेका थिए ।
बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
साँझ गोली लागेपछि पौने ६ बजे अस्पताल पुर्याइएको थियो । तर सवा ६ बजे अस्पतालले उनलाई मृत घोषित गरिदियो । गोली हान्ने व्यक्तिहरु फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बरियारपुरमा आफन्तलाई भेटेर फर्केपछि नास्ता गर्ने क्रममा अज्ञात समूहले गोली हानेको मृतकका आफन्त रविन्द्र प्रसाद यादवले बताए ।