काठमाडौं । नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनासँग भेट गरी सरकारले हालै गरेको सरकारी विज्ञापनसम्बन्धी निर्णय तत्काल खारेज गर्न माग गरेको छ।
महासंघ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले आज मन्त्री तिमिल्सिनालाई भेट्दै सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयले निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने र स्वतन्त्र पत्रकारितामाथि अप्रत्यक्ष दबाब सिर्जना गर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट चैत १८ गते जारी गरिएको परिपत्रमार्फत संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहलाई सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन गर्न निर्देशन दिइएको थियो।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उक्त निर्णय तत्काल खारेज नगरिए महासंघ आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ।
ज्ञापनपत्रमा महासंघले उक्त निर्णयप्रति पाँचवटा गम्भीर चिन्ता व्यक्त गरेको छ। महासंघका अनुसार सरकारी विज्ञापनलाई सीमित गर्दा प्रेस स्वतन्त्रतामाथि अप्रत्यक्ष नियन्त्रणको जोखिम बढ्ने, निजी तथा सामुदायिक सञ्चारमाध्यमको अस्तित्व संकटमा पर्ने, श्रमजीवी पत्रकारहरूको रोजगारी प्रभावित हुने, सूचनाको पहुँचमा असन्तुलन आउने तथा खुला बजार अर्थतन्त्रको मर्मविपरीत हुने अवस्था सिर्जना हुने देखिएको छ।
त्यस्तै महासंघले सरकारसँग चार बुँदे माग अघि सारेको छ। जसमा उक्त परिपत्र तत्काल खारेज गर्न, सरकारी विज्ञापन वितरणलाई पारदर्शी र समावेशी बनाउँदै सबै प्रकारका सञ्चारमाध्यममा समान रूपमा वितरण गर्न, सञ्चार क्षेत्र संरक्षणका लागि दीर्घकालीन नीति ल्याउन तथा सञ्चारसम्बन्धी निर्णय अघि सरोकारवालासँग अनिवार्य परामर्श गर्नुपर्ने माग समावेश छन्।
महासंघले बुझाएको ज्ञापनपत्रलाई सकारात्मक रूपमा लिँदै सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रको प्रवद्र्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो। उहाँले सञ्चारमाध्यमलाई निराश हुन नदिने स्पष्ट पार्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त भेटमा महासंघका उपाध्यक्ष दीपक आचार्य, नितु पण्डित र उमिदप्रसाद बागचन्द, महासचिव रामप्रसाद दाहाल, सचिवद्वय रमेश खतिवडा र सोनी शर्मा, कोषाध्यक्ष रामकृष्ण अधिकारीसहित केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।






