जनकपुर – सर्वसाधारणलाई सरकारी सेवा सहज रूपमा उपलब्ध गराइदिने प्रलोभन देखाई ठगी गर्दै आएको आरोपमा धनुषा प्रहरीले पाँच जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
भूमि सुधार तथा मालपोत कार्यालय धनुषा परिसरबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



पक्राउ पर्नेहरूमा कमला नगरपालिका–८ का ४२ वर्षीय नविन कुमार गोढान, जनकनन्दिनी गाउँपालिका–४ का ५३ वर्षीय राम बिनोद साह तथा महोत्तरीको पिपरा गाउँपालिकाका स्थायी बासिन्दा भई हाल जनकपुरधाम उपमहानगरपालिका–१३ बस्दै आएका ४० वर्षीय बिराजी यादव रहेका छन् ।
यसैगरी, सबैला नगरपालिका–११ का ४४ वर्षीय जय गोविन्द यादव र जनकपुरधाम उपमहानगरपालिका–२ कदमचोकका ३० वर्षीय ज्ञानदेव साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनीहरू विभिन्न सरकारी तथा सार्वजनिक सेवा छिटो गराइदिने बहानामा सेवाग्राहीबाट अवैध रूपमा रकम असुल्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकामाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।




